टेलिकमलाई प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने

0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले गुणस्तरीय सेवा उपलब्ध गराउन बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने बताएका छन्।

नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिँदै एक वर्षको अवधिमा ७७ वटै जिल्लामा फोरजी मोबाइल सेवा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे। उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनुपर्ने बताए।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए। उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए।

कम्पनीको सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) राजबहादुर रावलले कम्पनीका विभिन्न योजना कार्यान्वयनमा अझ प्राथमिकताका साथ लाग्नुपर्ने बताउँदै यसबीचमा संस्था र कर्मचारीको भलाईका लागि गरिएका कार्यहरु उल्लेख गरे।

नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि विभिन्न छुट तथा अफर उपलब्ध गराएको छ । त्यसैगरी कम्पनीले थप नयाँ सुविधाहरु र विशेषता समेटिएको नवीन अफिसियल वेबसाइट आजैदेखि सार्वजनिक गरेको छ । कम्पनीको नयाँ वेबसाइट प्रयोग गरी कम्पनीद्वारा प्रदत्त सम्पूर्ण सेवाहरु सहजै प्रयोगमा ल्याउन, रिचार्ज गर्न, शुल्कहरु बुझाउन सहज हुनेछ ।

ग्राहक महानुभावलाई अतिरिक्त सुविधाहरु उपलब्ध गराउन कम्पनीले नबिल बैंकसँगको सहकार्यमा मास्टर कार्ड, भिसा कार्डबाट नेपाल टेलिकमका मोबाइल सेवामा रिचार्ज गर्न तथा बिल भुक्तानी गर्न सकिने सुविधा ल्याइएको छ।

गत आर्थिक वर्षमा नेपाल टेलिकमले ३३ अर्ब ३१ करोड रुपैयाँ राजश्व दाखिला गरेको जनाएको छ। जसमध्ये कर र गैरकरबापत २५ अर्ब ७६ करोड रुपैयाँ र लाभांश वापत ७ अर्ब ५५ करोड रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिईयो।