आठ अर्बको आईपीओ जारी गर्न लागेको बैंकको यस्तो छ प्रगति विवरण

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्म ४० करोड २७ लाख खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।

यस्तै १२ करोड ३८ लाख धितोपत्रमा लगानी गरेको छ । बैंकले कर्जा तथा धितोपत्रमा गरेर करिब ७० करोड लगानी गरेको छ ।

बैंकले यस अवधिमा ६१ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ ।बैंकले अन्य बैंकहरुमा ११ अर्ब ३७ करोड रुपैयाँ जम्मा गरेर राखेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा र बैंकको कोषको लागत ९.४० प्रतिशत छ।

पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका सार्वजनिक तथा निजी साझेदारीमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक गत फागुन देखि संचालनमा आएको हो । बैंकलाई बाहिरबाट लगानी ल्याउन, परियोजना छनौट गर्न, स्रोतको चाहेअनुसार परिचालन गर्न बैंकलाई पूर्ण रुपमा जिम्मेवारी दिएको छ।

हालसम्मकै सबैभन्दा ठूलो आईपीओको प्रत्याभुतिकर्ता नागरिक लगानी कोष

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । आईपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

बैंकले २ वटा जलविद्युत् आयोजनाहरुमा ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ । साथै बैंकले सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुमा लगानी गर्न आवश्यक अध्ययन गरिरहेकोे छ । यस्तै, बैंकले विदेशी वित्त बजारबाट अफशोर बोण्ड जारी गरी ५ अर्ब भित्र्याउने कार्य अघि बढाई सकेकोे छ ।