माघ लागेपछि बैंकहरुको निक्षेप १५ अर्बले घट्यो, कर्जा ४ अर्ब बढ्यो

0
Shares

चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात माघ यता वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले घटेको छ भने कर्जा ४ अर्बले विस्तार भएको छ।

नेपाल बैंकर्स संघका अनुसार पुसमसान्तदेखि माघ १७ गतेसम्म आइपुग्दा बैंकहरुमा १५ अर्ब निक्षेप घटेको छ भने ४ अर्बले कर्जा बढेको छ।

माघ १७ गतेसम्म वाणिज्य बैंकहरुमा ३० खर्ब ४५ अर्ब निक्षेप रहेको छ भने यस अवधिमसम्म बैंकहरुले २७ खर्ब ३५ अर्ब कर्जा परिचालन गरेका छन्। गत पुसमसान्तसम्म बैंकहरुमा ३० खर्ब ६० अर्ब निक्षेप रहेको थियो भने त्यस अवधिमसम्म बैंकहरुले २७ खर्ब ३१ अर्ब कर्जा परिचालन गरेका छन्।

माघको पहिलो साता बैंकहरुबाट ८ अर्ब निक्षेप बाहिरिएको थियो भने कर्जा समेत १६ अर्बले घटेको थियो। यस्तै दोस्रो साता १६ अर्ब निक्षेप घट्दा १२ अर्बले कर्जा बढेको थियो। माघको तेस्रो सातामा बैंकहरुमा ९ अर्ब निक्षेप थपिएको छ भने यस अवधिमा बैंकहरुले ८ अर्बले कर्जा विस्तार गरेका छन्।

चालु आर्थिक बर्षको साढे ६ महिना अर्थात माघ १७ गते सम्मको तथ्याङकलाई हेर्दा २७ बाणिज्य बैंकमा कुल एक खर्ब ६७ अर्ब निक्षेप थपिएको छ। यस अवधिमा बैंकहरुले २ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका छन्। बैंकहरुले निक्षेप संकलन भन्दा ७० अर्ब बढी कर्जा प्रवाह गरेका छन्।

गत अषाढ मसान्तसम्म बैंकहरुमा कुल निक्षेप २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो भने त्यस अवधिमा बैंकहरुले कुल २४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।