त्रिसठ्ठी लाख कित्ता बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ २६ गते आइतबार ६३ लाख ८ हजार ६१९ दशमलव ९८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कैलाश विकास बैंक र महालक्ष्मी विकास बैंक गरि दुई विकास बैंकको बोनस सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कैलाश विकास बैंक लिमिटेडको ४० लाख ३३ हजार १८ कित्ता र महालक्ष्मी विकास बैंकको २२ लाख ७५ हजार ६०० दशमलव ९८ कित्ता बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण गरिएको हो।

प्राइम कर्मसियल बैंकसँग प्राप्ति प्रकृयामा रहेका कारण कैलाश  (KBBL) को हाल शेयर कारोबार रौक्का रहेको छ । कैलाश विकास बैंकको पुस २५ गते, शुक्रबार सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस र २.७७ प्रतिशत नगद गरी कूल १८.७७ प्रतिशत लाभांश अनुमोदन भएको थियो।

चुक्ता पूँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको बैंकको बोनसपश्चात पूँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार ७६० रुपैयाँ पुगेको छ ।

महालक्ष्मी विकास बैंक (MLBL) को कार्तिक २९ गते शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ९.८९ प्रतिशत नगद र ८ प्रतिशत बोनस गरी १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका थियो। चुक्ता पूँजी २ अर्ब ८४ करोड रुपैयाँ रहेको बैंकको बोनसपश्चात पूँजी ३ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ ।