सूचक घट्न थालेपछि कारोबारले समेत साथ छाड्दै

0
Shares

शेयर बजार परिसूचक नेप्सेमा बिहीबार पश्चात आइतबार लगातार दोस्रो दिन नेप्सेको गिरावटले निरन्तरता पाएको छ। गिरावटको क्रम सुरु भएपश्चात पछिल्लो दिनहरुमा शेयर कारोबार रकममा पनि गिरावट देखिन थालेको छ। बजार खुलेदेखि नै घट्न थालेको नेप्से एक घण्टा पश्चात केही बढ्न खोजेपनि पुन: बिक्री चाप आउँदा त्यसपछि निरन्तर घटेर बन्द भएको हो।

गत आइतबारदेखि नै नेप्सेमा शेयर कारोबार रकम घटिरहेको छ। गत बिहीबार एक अर्ब ४ करोड, बुधबार १ अर्ब ९ करोड, मंगलबार १ अर्ब ५७ करोड, सोमबार १ अर्ब ६१ करोड र आइतबार २ अर्ब ७ करोड बराबरको शेयर कारोबार भएको थियो। यसअघि बुलिस प्रवृत्तिमा रहेको नेप्से गत साताको मंगलबार र बिहीबार पश्चात यस साताको पहिलो कारोबार दिन आइतबार पनि ऋणात्मक भएको हो।

आइतबार नेप्से सूचक १३.७० अंकले घटेर १ हजार ३१९ दशमलव ९९ बिन्दुमा झरेको छ । ठूलो पूँजीकरण रहेको बैंकिङ्ग र बीमाको सूचक घटेसँगै समग्र नेप्स, सेन्सेटिभ इन्डेक्स, र फ्लोट परिसूचक सबैमा दबाब परेको हो। यसदिन १७३ कम्पनीका ९५ करोड ४ लाख २ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कूल २५ लाख ५० हजार २६६ कित्ता शेयर ११ हजार ७२६ पटक कारोबार हुँदा सो रकम बराबरको शेयर कारोबार भएको हो।

कारोबारमा आएका बाह्र उपसमूहका सूचकमध्ये उत्पादन सामान्य सकारात्मक भएपनि बाँकी सबै रातो भएर बन्द भएका छन्। होटल र निर्जीबन बीमाको सूचक २ प्रतिशत बढीले घट्दा बैंकिङ्ग, विकास बैंक र जीबन बीमाको सूचक पनि १ प्रतिशत बढीले ऋणात्मक भएका छन्।

आइतबार नेको इन्स्योरेन्सको सबैभन्दा बढी ७१ हजार १६५ कित्ता शेयर ३ करोड ८८ लाखमा कारोबार हुँदा ग्लोबल आइएमई बैंकको ३ करोड ५३ लाख, एनआईसी एशिया बैंक ३ करोड ४२ लाख र नागरिक लगानी कोषको पनि ३ करोड बढीको शेयर कारोबार भएको छ।

आजको बजारबाट स्वाभिमान लघुवित्तको शेयरमूल्य र कञ्चन डेभलपमेन्ट बैंकको ३ प्रतिशत बढीले शेयरमूल्य बढ्दा, छ्याङ्दी हाइड्रोपावर र सिभिल लघुवित्तको शेयरमूल्य २ प्रतिशतले बढेको छ।

आइतबारको बजारबाट प्रुडेन्सियल इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर, नेपाल फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ । ओरियण्टल होटल, मल्टिपपर्स फाइनान्स, सर्पोट माइक्रोफाइनान्सको शेयरमूल्यमा ४ प्रतिशत बढीले ह्रास आएको छ।