शिवममा फर्किए लगानीकर्ता, हकप्रदले उचालियो सिभिल लघुवित्तको भाउ

0
Shares

छिटो छिटो आफ्नो लगानीको पोर्टफोलियो बदल्दै छोटो अवधिमै बजारबाट नाफा सुरक्षित गर्ने लगानीकर्ताहरु शिवम सिमेन्टतर्फ मोडिदा सोमबारको बजारमा शिवमको उच्च कारोबार भएको छ ।

त्यस्तै हकप्रदमा उचालिदा सिभिल लघुवित्त वित्तिय संस्थाको उच्चदरले शेयर भाउ बढेको छ । सिभिलले धितोपत्र बोर्डमा एक बराबर एक प्रतिशतको अनुपातमा हकप्रद जारी गर्न आवेदन दिइसकेको छ । बोर्डको वेबसाइटमा हकप्रदले अनुमति पाएको बारे कुनै जानकारी नभएपनि हकप्रद स्वीकृत भएको हल्ला बजारमा चल्दा शेयर मूल्य बढेको हो ।

सोमबार ४.२८ अंकले बजार बढेर १३२४.२६ अंकमा पुग्दा १७५ कम्पनीको शेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएको छ । जसम्ध्ये शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भयो । शिवमको शेयर मूल्य समेत ४.२१ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ।

होटल, वाणिज्य बैंक, लघुवित्त, बीमा कम्पनी हुँदै लगानीकर्ता फेरि शिवमतिरै फर्कदा कारोबार उच्च भएको हो।  सोमबारको बजारमा जलविद्युत, फाइनान्स, जीवन बीमा र सामूहिक लगानी कोष कम्पनीका सूचक नकारात्मक रहेका छन भने बाँकी सबै समूहका सूचक सकारात्मक रहे।

यसदिन सिभिल लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्भर्टिवल शेयरको मूल्य सबैभन्दा धेरै ७.३६ प्रतिशतले घटेको छ।