खर्च नियन्त्रणमा चुक्दा सिभिल बैंकको नाफा घट्यो, खराब कर्जामा भने सुधार

0
Shares

सिभिल बैंकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्ममा ३१ करोड ६२ लाख खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको यसै अवधिको तुलनामा १४.७६ प्रतिशत कम हो।

बैंकले अघिल्लो पुसमा ३७ करोड ९ लाख नाफा कमाएको थियो । खराब कर्जा उल्लेखनिय रुपमा घटाएपनि कर्मचारी खर्च तथा संचालन खर्च बढेपछि नाफा प्रभावित भएको हो । बैंकको वितरण योग्य नाफा १३ करोड ११ लाख रुपैयाँ छ । बैंकको खुद नाफा घटेपनि निक्षेप, कर्जा, खुद ब्याज आम्दानी तथा संचालन नाफा लगायतमा भने सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या १०२ पुगेको छ । द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोही बमोजिम कर्मचारी खर्च लगायत समग्र संचालन खर्च बढ्न गएकोले तत्कालीन रुपमा नाफामा केहि असर पर्न गएको बैंकको भनाई छ ।

भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरु लगायत नयाँ खुल्ने शाखाहरुले विस्तारै व्यवशाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा बैंकको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्ने क्रममा रहेको बैंकले जनाएको छ।

बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ०.८५ प्रतिशतले घटाएको छ । गत वर्षको यही अवधिसम्म ३.५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर २.६९ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप २१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेको बैंकको प्रतिशेयर १२४ रुपैयाँ २२ पैसा छ । यस्तै बैंकको पूँजीकोष अनुपात १५.९२ प्रतिशत, कोषको लागत ८.१९, आधारदर १०.९८ र स्प्रेडदर ४.९० प्रतिशत छ ।