आईसिएफसि ऋणपत्र जारी गर्ने पहिलो फाइनान्स, अहिलेसम्मकै उच्च ब्याजदर

0
Shares

आईसिएफसि (ICFC)  फाइनान्स ऋणपत्र जारी गर्ने पहिलो फाइनान्स कम्पनी बनेको छ । फाइनान्सले हालसम्मकै उच्च ब्याजदरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र जारी गरेको छ ।

फाइनान्सको ऋणपत्रमा यही फागुन १३ गतेदेखि छिटोमा १६ गते तथा ढिलोमा २७ गतेसम्म आवेदन गर्न पाइने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटलले जनाएको छ।

फाइनान्सले हालसम्मकै उच्च वार्षिक १२ प्रतिशत व्याजदरमा ‘१२% आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ जारी गरेको हो । सात वर्षे अवधिको यस ऋणपत्रमा ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने फाइनान्सले जनाएको छ।

कुल निष्काशित २० करोडको ऋणपत्रमध्ये फाइनान्सले व्यक्तीगत तबरबाट १२ करोड रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता बिक्रीगर्ने जनाएको छ ।

बाँकी ८० हजार कित्तामध्ये ४० लाख रुपैयाँ बराबरको ४ हजार कित्ता सामुहिक लगानीकोषका लागि छुट्याईएको छ भने ७६ हजार अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता देखि ७६ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताहरुले ग्लोबल आइएमई क्यापिटल, आईसीएफसी फाइनान्सका विभिन्न शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

फाइनान्सले निष्काशन गर्न लागेको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ ।

फाइनान्स कम्पनीहरुमा आईसिएफसि ऋणपत्र निष्काशन गर्ने पहिलो फाइनान्स कम्पनी हो। 

हालसम्म “क” वर्गका वाणिज्य बैंकहरु ऋणपत्र निष्काशन गर्दै आइरहेकोमा आइसिएफसी फाइनान्सले पहिलो फाइनान्स कम्पनीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको हो। फाइनान्सले वाणिज्य बैंकहरुको भन्दा बढी ब्याजदरमा ऋणपत्र जारी गर्न लागेको हो । वाणिज्य बैंकहरुले साढे दश प्रतिशतसम्म ब्याजदर दिने गरेका छन् ।