बेष्ट फाइनान्सले ६ महिनामा कमायो पौने पाँच करोड नाफा, खराब कर्जा घट्यो

0
Shares

बेष्ट फाइनान्स (BFC) ले चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सले ३१.४३ प्रतिशतले नाफा बढाएको हो।

नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ बढेर वार्षिक ११ रुपैयाँ ४६ पैसा पुगेको छ। यस फाइनान्सको चुक्ता पूँजी ८२ करोड ८९ लाख रुपैयाँ रहेको छ।

समस्याग्रस्त संस्थाबाट मुक्त भएका कारण फाइनान्सको शेयरधनी कोष भने २७ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा ३३ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। फाइनान्सको प्रतिशेयर नेटवर्थ १०७.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.५५ गुणा रहेको छ।

यसअवधिमा फाइनान्सले खराब कर्जामा समेत उल्लेख्य सुधार गरेको छ । गत पुसमा २१.७० प्रतिशत खराब कर्जा अनुपात रहेकोमा फाइनान्सले ७.०२ बिन्दुले सुधार गर्दै १४.६८ प्रतिशतमा झरेको हो।

यसअवधिसम्ममा फाइनान्सले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी फाइनान्सले १ अर्ब ८७ करोड ७५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। यसबाटफाइनान्सले ८ करोड ३ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ७ करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।