बलात्कारको मुद्दा मिलाइदिने भन्दै ६० लाख घुस माग्ने असई अख्तियारको फन्दामा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको मुद्दा मिलाइदिने भनी घुस माग्ने सुन्धारा कारागारमा कार्यरत असईविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले ६० लाख घुस मागेको आरोपपत्रसहित असई उमेश केसीमाथि आज मुद्दा दायर गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ उनले घुस माग गरेका थिए ।

महानगरीय अपराध महाशाखाका तत्कालीन असई केसीले उमेश केसीमाथि अनुसन्धान हुँदा महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत केसीले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाई दिने प्रयोजनार्थ घुसररिसवत मागेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

अख्तियारले ६० लाख मागदाबीसहित कारबाहीको माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकृत खनालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको समेत पाइएकाले मुद्दा दायर गरिएको हो ।

यस्तै आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा आजै मुद्दा दायर गरेको छ ।

यसैगरी आयोगले आजै साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आयोगले आरोप लगाएको छ ।