लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीमैत्री र व्यवसायिक वातावरणको सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एशोसिएसनलाई निर्देशन दिएका छन् ।

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्धेश्यले सोमबार बैंक तथा बित्तीय संस्थाका पदाधिकारीहरूकोसँगेको छलफल पछि अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

अर्थमन्त्रीले वैंक तथा वित्तीय संस्थामा रहेका समस्याहरूको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सृजना गरी काम गर्न आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले वैंकिङ्ग क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धी पालना गर्नुपर्ने विषयहरू, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वः स्फूर्त सहभागिता अभिवृद्धि लगायतमा चासो व्यक्त गरेको थिए ।

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने विषय, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन र केवाईसी को मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ्ग सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरुमा छलफल भएको थियो ।

छलफलका क्रममा उठेका विषयहरुमा केन्द्रित भई थप सहजीकरण गर्न आवश्यक गृह कार्य गरी कार्यान्वयनको प्रकृयामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र नेपाल वैंकर्स एशोसिएसनले यथाशीघ्र छलफल गरी टुंगोमा र्पुयाउन समेत निर्देशन दिए।

उक्त कार्यक्रममा अर्थ सचिव  शिशिर कुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  बिनोद के.सी., नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नरहरू लगायत अन्य पदाधिकारीहरु, अर्थ मन्त्रालयका पदाधिकारीहरु सहित सवै वाणिज्य वैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।