प्रतिकित्ता शेयरमूल्य २७६० रुपैयाँ रहेको साल्ट ट्रेडिङ्गको यस्तो छ प्रथम त्रैमासको प्रगति

0
Shares

धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता शेयरमूल्य २ हजार ७६० रुपैयाँ रहेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन (STC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६ लाख ३० हजार ८२७ रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले अघिल्लो आवको पहिलो त्रैमासमा ९७ लाख ६२ हजार ४७२ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ८.८९ प्रतिशतले नाफा बढाएको हो।
असोज समान्तसम्म कम्पनीले आर्जन गरेको नाफाका आधारमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७.६९ रुपैयाँ कायम भएको छ। यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ६३२ रुपैयाँ रहेको छ।

सर्वसाधारणमा सीमित शेयर रहेका कारण कम्पनीको शेयर कर्नरिङ्ग गरि भाउ उच्च बढाइएको छ। चालु आवको सुरुमा अर्थात साउन १५ गते कम्पनीको शेयर प्रतिकित्ता ४९३ मा कारोबार भएको हाल ४६० प्रतिशत अर्थात २ हजार २६७ रुपैयाँले बढेर फागुन ५ गते सोमबार २ हजार ७६० रुपैयाँ पुगिसकेको छ ।

कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कर्पोरेशनले चालु आ.व.को ३ महिना अवधिमा कूल २ अर्ब ३४ करोड १६ लाख रुपैयाँको कारोबार गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ८३ करोड १४ लाख रुपैयाँ कारोबार गरेकोमा २७.८६ प्रतिशतले ब्यापार विस्ता गरेको छ।

यस अवधिमा कम्पनीको खुद आम्दानी २ करोड ८८ लाख रहेको छ । जुन गत आवको यसै अवधिको तुलनामा २२ करोड ४७ लाख रुपैयाँ अर्थात ८.४६ प्रतिशतले धेरै हो। गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब ६५ करोड ५५ लाख खुद आम्दानी गरेको थियो।