कालिका लघुवित्तको शेयरमा दैनिक सर्किट, दश कित्ताका दरले बढाईयो भाउ

0
Shares

मर्जरका कारण ९ महिनापछि कारोबार खुलेको कालिका लघुवित्त (KMCDB) को शेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लागेको छ । मंगलबादेखि शेयर कारोबार खुलेको लघुवित्तको शेयरमा बुधबार पनि बजार खुलेको केहीबेरमै पोजेटिभ सर्किट लागेको छ ।

जनसेवी लघुवित्तसँग मर्जर प्रकृयामा रहेका कारण लघुवित्तको गत जेठ ५ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो। नौ महिनापछि कारोबार खुलेको कालिका माइक्रोको मंगलबार शेयरमूल्य झण्डै दश प्रतिशतले बढेको थियो । बुधबार पनि शेयरमूल्य ९.९० प्रतिशत अर्थात प्रतिकित्ता ७६ रुपैयाँले बढेर ८४४ रुपैयाँ पुगेको छ ।

मार्केट डेप्थमा लघुवित्तको शेयरको उच्च माग देखिएको छ । १२ लाख ८६० कित्ताको माग हुँदा बिक्री गर्नेहरु देखिएका छैनन् । यसबीचमा कम्पनीको ८० कित्ता शेयर मात्र किनबेच भएको छ । दश कित्ताका दरले आठ कारोबारबाट कम्पनीको शेयर मूल्य बढाईएको छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चुक्ता पूँजी २५ करोड २३ लाख ३० रुपैयाँ छ । यसअवधिमा कालिकाले २७ लाख ९ हजार मुनाफा गरेको छ भने जनसेवीको नाफा १ करोड ४८ लाख ६६ हजार छ । दुई कम्पनीको संयुक्त प्रतिशेयर आम्दानी १३.९३ रुपैयाँ छ ।

कम्पनीको खराब कर्जा १.५९ बाट बढेर ३.०१ प्रतिशत पुगेको छ । जसको जगेडामा १४ करोड ६५ लाख रुपैयाँ सञ्चित भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा छ ।

यस अवधिमा लघुवित्तले १ अर्ब १ करोड निक्षेप संकलन र १ अर्ब ३१ करोड अन्य बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर आफ्ना ऋणीहरुमा ४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।