अर्थमन्त्री खतिवडा र संयुक्त राज्य अमेरिकी कंग्रेस सदस्य भेटवार्ता

0
Shares

माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेराले बिहीबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा माननीय अर्थमन्त्रीले एमसिसि अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै संसदबाट सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरे।

भेटका अवसरमा अर्थमन्त्रीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने बताए। विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाई थियो।

उनले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउँदै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै उनले गत वर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिएका थिए।

भेटमा अमेरिकी कंग्रेसका सदस्यद्वयले माननीय अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए।