भारतीय शेयर बजार धरासायी, सोमबार सेन्सेक्स ८०६ अंकले घट्यो

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भ्रमणमा रहेको समयमा भारतीय शेयर बजारमा अस्वभाविक गिरावट आएको छ। 

चीनबाट सुरु भएको कोरोना भाइरस अन्य मुलुकहरुमा पनि फैलने क्रमसँगै विश्व भरिका शेयर बजार नकारात्मक हुन थालेका छन्। त्यसको असर भारतीय शेयर बजारमा पनि देखिएको हो।

सोमबार भारतीय शेयर बजारमा कारोबार हुने यो साताको पहिलो दिन हो। गत साताको अन्तिम शुक्रबार पनि नकारात्मक रहेको शेयर बजारमा यस साताको सोमबार झनै उच्च अंकको गिरावट आएको हो । सोमबार बम्बई स्टक एक्सचेन्ज (विएसइ) सेन्सेक्स ८०६ र नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी २५१ अंकले घटेका छन्।

कोरोना भाइरसले विश्व अर्थतन्त्र नै असर गर्न सक्ने विश्लेषण अर्थशास्त्रीहरुले गरिरहेको अवस्थामा भारत पनि त्यसबाट बाहिरन सक्ने अवस्था रहेन। उसो त भारतीय अर्थतन्त्र पछिल्लो समयमा सुस्त अवस्थामा नै रहेको छ।

भारतीय शेयर लगानीकर्ताहरुले चालु आर्थिक वर्षको बजेट मार्फत अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसक्दा पनि बजार कही हदसम्मका प्रभावित भएको थियो । त्यसका साथै कोरोना भाइरसको डरका कारण पनि भारतीय शेयर बजार पछिल्लो समयमा निरन्तर घट्दो क्रममा देखिएको हो ।

सोमबार भारतीय शेयरको कारोबार बन्द हुँदा सेन्सेन्स ८०६ अंकले घटेर ४० हजार ३६३ अंकमा पुगेको छ भने निफ्टी २५१ अंकले घटेर ११ हजार ८२९ दशमलव ९० अंकमा झरेको छ । सोमबार सेन्सेक्समा सूचीकृत ३० कम्पनी मध्ये ३० वटाकै शेयर मूल्य घटेको छ भने ५० कम्पनीको परिसूचक निफ्टीका ४९ कम्पनीको शेयर मूल्य पनि घटेको छ ।