एनआईसी एशिया क्यापिटलले ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलामुखी योजना सञ्चालन गर्ने

0
Shares

एनआईसी एशिया क्यापिटलले नयाँ खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ सामूहिक लगानी कोष सञ्चालन गर्ने भएको छ ।

क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उदेश्यका साथ ५० करोड रुपैयाँको आकारमा सो योजना सञ्चालन गर्न लागेको हो। एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको छ ।

क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले नेपालमा हाल सम्म सञ्चालित सामूहिक लगानी कोषहरुको अधिकांश रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ सञ्चालन भइरहेकोमा फरक उदेश्यका साथ योजना सञ्चालन गर्न लागिएको बताए।

पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखिम अत्यन्तै न्यून रहेको उनको भनाई थियो। क्यापिटलले सञ्चालन गर्न लागेको यो योजना नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतार चढाबबाट कम प्रभावित हुने देखिन्छ ।

यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ। साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड सञ्चालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ।

हाल एनआईसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एनआईसी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” सञ्चालन गरिरहेको छ। यसका साथै एनआईसी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ। एनआईसी एशिया क्यापिटल एक मात्र आईएसओ सर्टिफाइड क्यापिटल हो।