ऐतिहासिक कारोबार हुँदा बलिया बैंकमा आकर्षण, यस्ता छन् कमाउने कम्पनी

0
Shares

शेयर कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा लगानीकर्ताको पहिलो रोजाईमा विदेशी साझेदारका बलिया बैंकमा परेका छन्।

दैनिक कारोबारमा नयाँ नयाँ रेकर्ड बनाएको शेयर बजारमा बिहीबार ४ अर्ब ४६ करोड बराबरको शेयर किनबेच भएर ऐतिहासिक रेकर्ड बनाएको छ । अघिल्लो दिन बुधबार ४ अर्ब १५ करोडको कारोबार भएको थियो । यो साताका पाँच दिनमा मात्रै साढे १८ अर्ब बढीको शेयर किनबेच भएको छ।

विदेशी साझेदारीमा संचालनमा रहेका तुलनात्मक रुपमा शेयर बजारका बलिया र ठुला बैंक लगानीकर्ताको रोजाई पर्दा बैकिङ् समूहमा उछाल आएको छ । जसले गर्दा समग्र सूचक समेत ३६ अंकले बढेर १६३२ अंकमा पुगेको छ। यसदिन वाणिज्य बैंकको सूचक नै ६ प्रतिशत बढीले उकालो लागेको छ ।

वाणिज्य बैंकहरुमा बहार आउँदा विदेशी साझेदारी रहेका बैंकहरुको शेयर मूल्य उच्चदरले बढेको छ। सबैभन्दा धेरै शेयर मूल्य बढेको एभरेष्ट्र बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसको शेयर मूल्य दश प्रतिशतले बढेर प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ । यस्तौ एसबिआई, हिमालयन र नबिल बैंकको शेयर मूल्य पनि दश प्रतिशतकै हाराहारीमा बढेको छ। यता स्ट्याण्डर्ड चाटर्ड र एनसीसी बैंक पनि उच्च शेयर मूल्य बढ्ने दश कम्पनीमा परेका छन् । एनएमबि बैंकको पनि शेयर मूल्य बढेको छ।

उच्च कारोबार गर्ने कम्पनीको सूचीमा तीन बाहेक सबै वाणिज्य बैंकहरु देखापरेका छन् । नेपाल लाइफको सबैभन्दा धेरै करिब २९ करोड बराबरको कारोबार भएको छ । दोस्रो उच्च कारोबार हुने एनआईसी एशिया बैंकको २० करोड बढीको भएको छ । एनएमबि र नबिलको १५ करोड बढीको शेयर किनबेच हुँदा नबिल, प्रभु, ग्लोबल आइएमई, नेपाल बैंक र एभरेष्टको पनि दश करोड बढीको शेयर किनबेच भएको छ । शिवको पनि झण्डै १५ करोड बढीको कारोबार भयो।

शेयर संख्याको हिसाबले बिहीबारको बजारमा प्रभु बैंकको सबैभन्दा धेरै ४ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ। सिभिल बैंक र कुमारीको पनि ४ लाख बढी कित्ता कारोबार भयो। ग्लोबल आइएई, नेपाल, एनआईसीए, एनसिसि र एनएमबि बैंकको पनि ३ लाख बढी कित्ताको कारोबार भएको छ।

बिहीबारको बजारमा ङादी हाइड्रो, सिनजी पावर र समृद्धि फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले ओरालो लागेको छ। यसदिन साल्ट ट्रेडिङको शेयरमूल्य चार प्रतिशत बढीले घटेको छ।