रक्सी कम्पनीका मालिक र सरकारी कर्मचारीद्धारा साढे ३७ लाख भष्ट्राचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस माग्ने र घुस वापत रकम लिने दुईजना विरुद्ध साढे ३७ लाख विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुबास बस्नेत र श्री डिस्टीलरी प्रा.लि.का अध्यक्ष धनेन्द्र कार्की विरुद्ध मुद्दा दायर गरेको हो।

बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस माग गरी प्राप्त गरेको घुस बापतको रकम कार्कीको बैंक खातामा जम्मा गरेको पाइएको अख्तियारले जनाएको छ।

अनुसन्धानको सिलसिलामा बस्नेतले झापा जिल्लाको गौरीगंज तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माणको कार्य सेवाग्राहीमार्फत गराई सो बापत तथा थप काम दिलाउने प्रयोजनार्थ पटक-पटक गरी ३७ लाख ५० हजार घुस लिएको भेटिएको छ। बस्नेतले सेवाग्राहबाट घुस लिई श्री डिस्टीलरीको बैंक खातामा जम्मा गर्न लगाएको स्पष्ट देखिएको अख्तियारको भनाई छ ।

साथै सुबास बस्नेतसँगको मिलेमतोमा कार्कीले आफ्नै हस्ताक्षरबाट चल्ने श्री डिस्टीलरी प्रा.लि.को बैंक खातामा रकम जम्मागरी सहयोग पुर्याएको अख्तियारको भनाई छ । भष्ट्राचारमा सघाएको भन्दै अख्तियारले कार्की विरुद्ध पनि साढे ३७ लाख विगो माग दाबी गरी आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।