लेखा समितिले आर्थिक अनियमिता छानबिन गर्दै

0
Shares

सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताका घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने भएको छ ।

प्रदेश सरकारले खरिद तथा वितरण गरेकोे सुविधा सम्पन्न एम्बुलेन्स, कैलालीस्थित बाह्रवन साझेदारी वन व्यवस्थापन र प्रदेशभित्र सामुदायिक सिँचाइ परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रमको आर्थिक अनियमितताबारे प्रतिवेदन तयार गर्ने भएको हो ।

प्रतिवेदन तयार पार्न समितिले समयावधि तोकेको छ । लेखा समितिको बैठकले यही फागुन ८ गते एम्बुलेन्स खरिद तथा वितरणको छानबिन गर्न सभापति नन्दाकुमारी बमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

यस्तै बाह्रवन साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक सिँचाइ आयोजना (सिआइपी) अन्र्तगत सञ्चालन भएको कार्यक्रमको छानबिन गर्न समिति सदस्य अमरबहादुर साउदको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिका सभापति नन्दाकुमारी बमले एम्बुलेन्सबारे ३० दिनभित्र तथा बाह्रवन र सामुदायिक सिँचाइ आयोजना ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयावधि तोकिएको जानकारी दिए ।

सभापति नन्दाले भने, “यदि तोकिएको समयभित्र कुनै कारणबस प्रतिवेदन पेश गर्न सकिएन भने मागअनुसार समय थप गर्न सकिनेछ ।” उनले तीनवटै आर्थिक अनियमितताको घटनाको छानबिन शुरु भएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिक २० गते एक कार्यक्रमबीच सेती प्रादेशिक अस्पतालसहित प्रदेशका १६ वटा निर्वाचन क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थालाई एम्बुलेन्स वितरण गरेको थियो ।

प्रकाशित मिति: १९ फागुन २०७६, सोमबार  १५ : ३४ बजे