प्रधानमन्त्री ओलीको आज मिर्गौला प्रत्यारोपण गरिँदै

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा. प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ ।

प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ ।

सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली एक साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिङ्गो मुलुकले व्यग्र्रतापूर्वक प्रतीक्षा गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गौला दान गनेृछिन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  ०८ : ५२ बजे