प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सफल

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा समय लागेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो। मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो।

उहाँलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गर्नु भएको हो। यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित मिति: २१ फागुन २०७६, बुधबार  १७ : ५० बजे