कर छली गर्ने १३० व्यावसायिक कम्पनीलाई राजश्वको पत्र

कर छली गर्ने १३० व्यावसायिक कम्पनीलाई राजश्वको पत्र

नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ ।

विभागले आज सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा २०० भन्दाबढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार पटकपटक सम्पर्कमा आउन गरिएको आग्रहलाई व्यावसायिक फार्म तथा प्रतिष्ठानले अटेर गरेकाले उनीहरुलाई सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिएको हो ।

विभागले भ्याट बिल छली तथा अन्तःशुल्कमा समेत गैरकानूनीरुपमा छली गरेको पाइएकाले सार्वजनिकरुपमा नै उनीहरुलाई उपस्थित हुन भनेको महानिर्देशक मैनालीको भनाइ छ ।

वर्तमान सरकार गठन भएसँगै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राखिएको छ । नयाँ संरचनालगत्तै विभागले नक्कली भ्याट बिल तथा अन्तःशुल्क छलीको मात्रै १५ अर्ब बराबरको मुद्दा अदालतमा दायर गरिसकेको छ ।

आज प्रकाशित सूचनामा ती व्यावसायिक फार्म तथा व्यापारिक प्रतिष्ठान सम्पर्कमा नरहेको र ती संस्थामा काम गर्ने व्यक्ति तथा मजदूरका नाममा बैंक खाता खोलेको पाइएको छ । उनीहरुलाई विभागले पटकपटक सम्पर्कमा आउन आग्रह गर्दासमेत अटेर गरिएको जनाइएको छ । विभागले ती फार्म अनुसन्धानको प्रक्रियामा रहेको बताएको छ ।

प्रकाशित मिति: २२ फागुन २०७६, बिहीबार १५ : २५ बजे