औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

0
Shares

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरे ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरीन् । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरीन । उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गरीन् ।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ ।

बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।

 

प्रकाशित मिति: २३ फागुन २०७६, शुक्रबार  १२ : २४ बजे