शेयर लगानीकर्ताको पहिलो रोजाईमा नेपाल लाइफ, एनएमबि दोस्रोमा पर्दा शिवम दशौं

0
Shares

यो साताको शेयर बजारमा लगानीकर्ताहरुको पहिलो रोजाईमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखा परेको छ ।

यो साता नेपाल लाइफको सबैभन्दा उच्च कारोबार भएको छ । नेपाल लाइफको एक अर्ब ४५ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको छ । नेपाल लाइफ लगानीकर्ताको पहिलो रोजाईमा पर्दा उच्च कारोबार हुने दश कम्पनीको सूचीमा सात वाणिज्य बैंक परेको छन् । हिमालयन डिष्टलरी र शिवम सिमेन्ट पनि उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

बीमा कम्पनीहरुले गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने क्रम सुरु भएकाले पनि लगानीकर्ताको रोजाईमा नेपाल लाइफ परेको हो। जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा सबल र बलियो देखिएको नेपाल लाइफको माग बढ्दा कारोबार उच्च हुँदै आएको छ ।

यस्तो दोस्रो नम्बरमा एनएमबि बैंक देखा परेको छ । यो साता एनएमबि बैंकको ८७ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । विदेशबाट पूँजी ल्याएर परिचालन गरेको यो बैंकमा लगानीकर्ताको आकर्षण बढेको हो।

यस्तै एनआईसी एशिया बैंकको ७७ करोड ५६ लाख र ग्लोबल आईएमई बैंकको ५६ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरी लिमिटेड, नविल बैंक, प्रभु बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र शिवम सिमेन्ट पनि उच्च कारोबार हुने दश कम्पनीमा परेका छन् ।

यो साता १६ अर्ब २१ करोड ९० लाख रुपैयाँ बराबरको ३ करोड ८४ लाख २६ हजार कित्ता शेयर किनबेच भएको छ । यो रकम अघिल्लो साताको तुलनामा १३ प्रतिशत कम हो । अघिल्लो साता १८ अर्ब ६२ करोडको शेयर किनबेच भएको थियो ।