तीन महिना बढीको औषधि मौज्दात छ: औषधि उत्पादक सङ्घ

0
Shares

नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ।

विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो ।

सङ्घले पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ। सम्मेलनमा सङ्घका अध्यक्ष जि नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताए।

उनले भने, “भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौं, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनौं”

नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन्। सङ्घका महासचिव विप्लव अधिकारीले नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा वर्तमान परिस्थितिले सबैमा सचेतना बढाउनुपर्ने बताए।

उनले हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलाईृ आग्रह गर्नुपर्ने अवस्था नरहेको जनाउँदै निजी औषधि उद्योगसँग सरकारले सहकार्य गरेमात्र पुग्ने बताए। सङ्घका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक सङ्घसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरु नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पु¥याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पारे।

नेपाल हाल करिब ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ भने बाँकी औषधि विभिन्न मुलुकबाट आयात हुने गरेको छ। गत वर्ष मुलुकमा स्वदेशी र विदेशी गरी करिब ७० अर्ब मूल्य बराबरको औषधि खपत भएको सङ्घले जनाएको छ।

प्रकाशित मिति: २४ फागुन २०७६, शनिबार  १३ : ३२ बजे