एनआरएनएले नेपालमा छिट्टै १० अर्ब लगानी भित्राउँदै

0
Shares

गैरआवासीय नेपाली संघ (एनआएनए) का अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालमा छिट्टै १० अर्बको लगानी नेपाल भित्रिने तयारीमा रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको १५ औं वार्षिकोत्सवमा सहभागी हुन बेलायत पुगेका पन्तले अल्डरशटस्थित एम्पायर हलमा बिहीबार साँझ आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै विदेशमा बस्ने नेपालीहरुले देशको समृद्धि हेर्न चाहेको बताए। उनलेआफूले नेतृत्व लिँदा संघभित्र चुनौतिका पहाड छेडेर अगाडी बढ्नुपर्ने बाध्यता रहेको बताए। पन्तले गैरआवासीय नेपालीहरुको लगानीमा बालुवाटारमा किनेको जग्गामा दलालले संघलाई फसाएको बताए ।

पन्तले भूकम्प पीडितको लागि गोर्खाको लाप्राकमा बन्दै गरेको नमूना बस्तीको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पन्तले विदेशमा बस्ने नेपालीहरुको लागि गैरआवासीय नेपाली नागरिकता बन्ने निश्चित भएको बताए । अहिले गैरआवासीय नेपालीसम्बन्धी नागरिकताको बिषय संसदीय समितिमा छ त्यो अनुमोदन भएपछि नागरिकता पाउने निश्चित छ, पन्तले भने।

संघका महासचिव डा. हेमराज शर्माले विगत ३ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारे। उनले गैरआवासीय नेपाली संघ अब स्मार्ट एनआरएनको रुपमा विस्तार गरिने जानकारी दिए। उनले संघभित्र आर्थिक, भौतिक तथा संगठनात्मक सुधारका कामको थालनी गरिएको जनाए।

कार्यक्रमलाई स्वागत मन्तव्य दिदैं गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले विगत ५ महिनामा संघले गरेका गतिविधिका बारेमा प्रकाश पारिन्। उनले एनआरएनलाई राम्रो एनआरएन बनाउने प्रयत्न गर्ने बताइन्। गुरुङले समुदायका सबै पक्षसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रम संयोजक तथा संस्थापक मध्यका एक रामशरण सिम्खडाले गैरआवासीय नेपाली संघ युकेको इतिहास खोतल्ने प्रयास गरेका थिए। कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले तयार परेको श्रव्य दृष्यको प्रदर्शन गरिएको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पूर्वमहासचिव तथा आइसीसी सदस्य भक्त गुरुङले गैरआवासीय नेपाली संघ मुनाफारहित संस्था भएको बताए। उनले भातृभूमिका लागि केही गरौं भन्ने भावनाले उत्प्रेरित भएर स्थापना भएको जनाए। उनले गैरआवासीय नेपाली संघ कुनै धार्मिक तथा राजनीतिक संस्था नभएको बताउँदै सबैको छाता संस्थाको रुपमा विस्तार गर्नुपर्ने जोड दिए।

कार्यक्रम अर्का पूर्वमहासचिव कृष्ण उपाध्यायले गैरआवासीय नेपाली नागरिकताको मुद्दा सबैको साझा भएको भन्दै गैरआवासीय नेपाली नागरिकताले सबै पक्षलाई समेटेर लैजाने बताए। गैरआवासीय नेपाली संघको सदस्यता चुनावमुखी भएको भन्दै उपाध्यायले भने, ‘संघले नयाँ पुस्ता र पुराना पुस्तालाई जोड्ने कार्यक्रम ल्याउनुपर्छ।’ उनले संगठनको स्वरुपमा समेत परिवर्तन गर्न सुझाव दिए।

कार्यक्रममा यति नेपाली एसोसियसन युकेका अध्यक्ष ध्रुब केसीले संस्थाको स्थापनाकालको स्मरण गरे। कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघ युकेका सल्लाहकार शिवजी श्रेष्ठले गैरआवासीय नेपाली संघ युकेको गत सेप्टेम्बर महिनामा सम्पनन निर्वाचनमा आर्थिक हिनामिना नभएको बताए। उनले निर्वाचन समितिले गरेको खर्च पूर्ण रुपमा पारदर्शी भएको बताए।

कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै संघका पूर्वअध्यक्ष महेन्द्र कंडेलले एनआरएनए अभियानमा थुप्रै नेपालीहरुको योगदान गरेको चर्चा गर्दै संघलाई विघटनको बाटोमा जान दिन नहुने बताए। उनले संघभित्रका व्यक्तिगत तिक्तता मेटाएर अघि बढ्न सुझाव दिए। उनले संस्थाका विवादका विषयलाई आन्तरिक छलफलबाटै टुंग्याउनु पर्नेमा जोड दिए। संघका संरक्षक सूर्य गुरुङले शुभकामना दिएका थिए भने कार्यक्रममा सयपत्री कल्चर ग्रुपले विशेष संस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको थियो।

कार्यक्रमका प्रमुखअतिथि नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले बेलायत गैरआवासीय नेपाली संघको जननि भूमि भएको कारणले ऐतिहासिक देश भएको बताए। उनले विगत ३ वर्षको आफ्नो कार्यकालमा संघको गतिविधिलाई नजिकबाट नियाल्ने मौका पाएको बताउँदै तेस्रो पुस्ता तयार भइसकेको अवस्थामा दीर्घकालीन कार्यक्रम तय गर्न सुझाव दिएका थिए।

प्रकाशित मिति: २५ फागुन २०७६, आइतबार  १८ : २५ बजे