जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु, स्थानीयवासीलाई १०% शेयर

0
Shares

जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मङ्गलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।

पहिलो चरणमा इलस्थित स्थानीयवासीले मुआब्जा पाउने छन् भने दोस्रो चरणमा अर्थात चैत १४ गते काईगाउँमा वितरण गरिने छ । इलमा ६३ घरधुरीको ७१ रोपनी जग्गको प्रतिरोपनी पाँच लाख ५० हजार र काईगाउँमा १८७ रोपनी १०० घरधुरीको प्रतिरोपनी पाँच लाख १५ हजार रुपैयाँका दरले मुआब्जा वितरणको कार्य अगाडि बढेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

कूल ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि अहिले भौगोलिक विकटताका कारण १०६ मेघावाट मात्र विद्युत् उत्पादन गर्न सकिने बताइएको छ । प्राविधिक टोलीको सल्लाहअनुसार क्षमता घटाएर काम शुरु गरिएको आयोजनाको अवको एक महिनाभित्र विस्तृत परियोजनाको प्रतिवेदन आउने प्रमुख सापकोटाले जनाए।

बीस महिनाभित्र निर्माण पूरा गर्ने भनी गरिएको सम्झौताअनुसार काम पूरा नभएपछि अहिले ६ महिना थपेर विस्तृत परियोजना प्रतिवेदनको कामलाई तीव्रता दिइएको छ । आयोजनाको विद्युत् उत्पादन गृह मुड्केचुला गाउँपालिका–४ इलमा बन्ने छ भने जगदुला गाउँपालिका वडा नं १ र २ मा ड्याम निर्माण गरिनेछ । पहिलो चरणमा २५८ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको हो । अर्धजलाशयका रुपमा निर्माण कार्य थालिएको आयोजनाको छ वर्षभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ।

करिब ६.१ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलस्थित ३०० मिटरभित्र रहेको विद्युत् उत्पादन गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ। जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा २० मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ भने उक्त ड्यामको १०० मिटर चौडाइ हुनेछ । ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिनेछ।

  • स्थानीयवासीलाई १० प्रतिशत शेयर

विस्तृत परियोजनाको जिम्मा एनइए इञ्जिनीयरिङले २७ करोड रुपैयाँमा लिएको उनको भनाई छ । आयोजना निर्माणका लागि १० प्रतिशत शेयर स्थानीयवासीले हाल्न पाउनेछन् । सरकारले आफैँ र स्थानीयवासीलाई शेयर दिएर यो आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

डोल्पाको भाग्य र भविष्यसँग जोडिएको आयोजना भएकाले यसलाई छिटोछरितो निर्माणका लागि पहल कदमी जारी रहेको डोल्पाकी सांसद सत्य पहाडीले जानकारी दिए। नलगाड जलविद्युत् आयोजना र जलदुल्ला जलविद्युत् आयोजना निर्माणस्थल एक दिनको फरक दूरीमा छन्। यी दुवै विद्युत् आयोजना निर्माणका लागि ११ केभी प्रसारण लाइन जाजरकोटबाट जोड्ने कामसमेत शुरु भएको पहाडीले बताए।

भौगोलिक रुपमा निकै जटिल भूवनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ। विद्युत् उत्पादन गृह र ड्यामस्थलसम्म मात्र अहिले जग्गा अधिग्रहण गरी मुआव्जाको काम शुरु भएको छ। अत्यन्तै चिसो र सफा पानी रहेको यो आयोजना निर्माण कार्य शुरु भएसँगै जग्गाको भाउ बढेको मुड्केचुलाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

  • आयोजना निर्माणको बाधक सडक

त्रिवेणीदेखि इलसम्म सडक निर्माण गर्नका लागि भएको वोलपत्र आह्वान रद्द भएपछि सडक निर्माण कार्य अलपत्र भएको छ। बजेट सुनिश्चित नहुँदा बोलपत्र आह्वान गरेर पनि रद्द भएको भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाले जानकारी दिनुभयो । रु १० करोडमा बोलपत्र आह्वान भए पनि बजेटको सुनिश्चितता नहुँदा समस्या भएको उहाँको भनाइ छ। अब नयाँ बजेट सुनिश्चित नभएसम्म बोलपत्र आह्वान गर्न नसकिने उहाँको भनाइ छ । सो सडक निर्माणका लागि ३० करोडको बजेट छुट्याएर काम शुरु गर्ने तयारीमा रहेको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए। उनका अनुसार डिपिआर प्रतिवेदन पहिले नै फाइनल भइसकेकाले बजेट खोजी भइरहेको छ ।