शेयर बजारबारे सांसद : बजार बन्द गर्नुपर्छ – विस्तार गर्नुपर्छ

0
Shares

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले धितोपत्र बजार बन्द गर्नुपर्ने देखि विस्तार गर्नुपर्ने धारणा राखेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा दफावार छलफलका लागि पेश गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विद्ययेक २०७६ माथिको छलफलमा भाग लिदै सांसदहरुले यस्तो बताएका हुन् ।

छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूँजी बजारको सही परिचालनले देशको विकास गर्न सकिने भन्दै धितोपत्र बजारको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । उनले धितोपत्र सम्बन्धी विद्ययेकलाई समायनुकुल बनाउनुपर्ने बताउँदै सरकारले संविधानको भावना विपरित धितोपत्र सम्बन्धी विद्येयक प्रस्तु्त गरको आरोप समेत लगाए ।

यस्तै अर्का सांसद प्रेम सुवालले बन्द कोठाभित्र हुने धितोपत्रको कारोबारले उत्पादन बढाउन नसक्ने भन्दै धितोपत्र बजार आम जनताको हितमा नभएको बताए । उनले पूँजी बजार केही सीमित व्यक्तीको हातमा रहेको उल्लेख गर्दै धितोपत्र बजारले सर्वसाधारणको आर्थिक हित नहुने बताए । शेयर बजारमा लाग्न होईन उत्पादनमा लाग्न सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।

धितोपत्रको कारोबारको जिम्मा राज्यले लिनुपर्ने बताउँदै उनले केहि सीमित व्यक्तीको हातमा रहेको बजार आवश्यक नरहेको धारणा राखे। सुवालले सारा मान्छेलाई बन्द कोठाभित्र लगाएर देश नबन्ने भन्दै विद्येयक फिर्ता लिन माग गरे।

छलफलमा सहभागी हुँदै सांसद शेर बहादुर तामाङले शेयर बजारलाई अझै उदार र फराकिलो बनाउन ब्रोकर सेवा विस्तार गर्नुपर्ने बताए । शेयर बजारमा ५० ब्रोकरको सिन्डिकेट रहेको बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्नेमा जोड दिए। । उनले शेयर बजारको पहुँच विस्तार गर्न नेपालमा गरिएको लगानी नेपालमै रहनेगरी गैर-आवसीय नेपालीलाई समेत शेयर बजारमा भित्र्याउनुपर्ने सुझाब दिए।

सांसद गजेन्द्र बहादुर महतले शेयर बजारमा नाटकिय उतार-चढाव भइरहने भएकाले नियामक निकाय चनाखो हुनुपर्ने बताए। शेयर बजारमा सेतो पैसा नहुँदा नाटकीय उतार-चढाव गराएर सोझा साझा फसाउने काम भएको उनको भनाई थियो। महतले केही ब्रोकरको हातमा रहेको शेयर बजारबाट पब्लिकले फाइदा लिन नसक्ने जिकिर गरे।

यस्तै सांसद रामकुमारी झाक्रीले शेयर बजार पूँजी निमार्णको आधार भएको बताउँदै यसलाई व्यवस्थीत बनाउनुपर्ने बताईन । उनले शेयर बजारमा हुने नकारात्मक खेलहरुलाई नियन्त्रण गर्न धितोपत्र बजारका निमायक निकायलाई बलियो बनाउनुपर्नेमा जोड दिईन् ।

झाक्रीले वित्तीय क्षेत्रका महत्वपूर्ण पक्षहरु पूँजी बजार, मुद्रा बजार, बीमा सेवा भएको उल्लेख गर्दै यी क्षेत्रमा नियमनकारी निकायहरुलाई बलियो बनाउनुपर्नेमा जोड दिइन् । साथै धितोपत्र बोर्डको संरचनागत सुधार गरेर थप सक्षम बनाउनुपर्ने बताइन् ।