घुस आरोपमा वडासचिव विरुद्ध विशेष अदालतमा मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ का वडासचिव सुशील ठाकुरविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वडा सचिव ठाकुरले जन्म प्रमाणित सिफारिश गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले वडासचिव ठाकुरलाई घुस लिँदालिँदै केही दिन अघि नियन्त्रणमा लिएको थियो। आयोगले बिगोबमोजिमको कारबाही र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो।

यस्तै आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ। काम सहज गरिदिए बापत उनीहरुले रु पाँच हजार घुस लिँदै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार पक्राउ गरिएको भए पनि अनुसन्धानका कारण आजमात्र सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  २३ : ४१ बजे