विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ सङ्क्रमणलाई विश्वव्यापी ‘प्रकोप’ घोषणा गर्दा चीनमा उच्च प्रभाव सकिँदै

0
Shares

विश्व स्वास्थ्य सङ्गठनले बुधबार घातक कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ घोषणा गर्दा चीनमा भने सङ्क्रमणको उच्च बिन्दु पार भएको बेइजिङले जनाएको छ।

विश्व सङ्गठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घण्टापछि चीनकोे यस्तो धारणा आएको छ। कोभिड–१९ सङ्क्रमणका नयाँ विरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताए।

मीले भने, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।” उनले भने, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा भरेको छ ।” वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सिमित भएको उनले पुष्टि गरे।

हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उनले भने।

उनले थपे, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।”

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाई थियो ।

बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने १२५ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार ७०० व्यक्तिले आफ्नो जीवन गुमाइसकेका छन्।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए।

प्रवक्ता मीले भने “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।”

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  १० : ४४ बजे