शेयर बजारमा तीब्र उतार-चढाव देखिएपछि लगानीकर्ताको बढ्यो दौडधुप

0
Shares

गत साता देखि शेयर बजारमा अस्वभाविक रुपमा तीब्र उतार-चढाव देखा परेपछि शेयर लगानीकर्ताहरु बजार सुधारका माग राखेर नियामक निकाय धाउन थालेका छन्।

गत साता र यो साता उच्च अंकले बजार घट्ने र बढ्ने क्रम देखा परेपछि शेयर लगानीकर्ताले भेटघाटको क्रम बढाएका हुन्। पछिल्लो समयमा कोरोनाको त्रास बढेपछि शेयर बजारमा उच्च अंकको गिरावट देखा पर्न थालेको छ । यसबाट शेयर लगानीकर्ताहरु समेत अन्योलमा देखिएका छन्।

शुक्रबार नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल लगायतका प्रतिनिधिहरुले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर बजारका विद्यमान समस्याहरु समाधान गर्न माग गरेको छ।

बोर्ड अध्यक्ष ढुंगानालाई भेटेर उनीहरुले समग्र बजारको अवस्था हेरेर मात्र कारोबार समय बढाउनुपर्ने बताएका छन्। धितोपत्र बोर्डले आगामी आइतबारबाट शेयर कारोबार अवधि चार घण्टाबाट बढाएर पाँच घण्टा पुर्याउने तयारी गरिरहदा लगानीकर्ताहरुले भने समग्र बजारको हित हेरेर मात्र निर्णय गर्नुपर्ने सुझाब दिएका छन्।

शेयर लगानीकर्तासंघका उपाध्याक्ष ताराप्रसाद फूल्लेलले नोटबजारसँग कुरागर्दै बजारको हित हेरेर कारोबार समय बढाउने वा घटाउने निर्णय लिनुपर्ने, क्लोज आवटको समस्या समाधान गर्न अक्सन मार्केट संचालन गर्नुपर्ने, कारोबारी र लगानीकर्ता छुट्याएर सुविधा समेत फरक पार्नुपर्ने, पूँजीगत लाभकरको अन्तिम टुङो लगाउनुपर्ने तथा ब्रोकर, लगानीकर्ता र नियामकको समन्वयमा मात्र नयाँ कार्यक्रम ल्याउनुपर्ने सुझाब लगानीकर्ताले दिएको जानकारी गराए।

लगानीकर्ताले राखेका सुझाबहरुमा तत्काल अक्सन मार्केट संचालनका लागि बोर्ड सकारात्मक रहेको छलफलमा सहभागी लगानीकर्ताले बताए।  धितोपत्र बोर्डले परिक्षण गरेर मात्र कारोबार अवधि थप्ने तयारी गरेको बुझिएको छ।