प्रदेश नं १ लगानी सम्मेलनको तयारीमा

0
Shares

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच शुक्रबार विराटनगर भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटवार्तामा मुख्यमन्त्री राईले रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको बताएका हुन्।

यस्तै उनले प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको बताउँदै साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना र ‘चिफ मिनिस्टर ड्यास बोर्ड’को काम भइरहेको जानकारी राजदूतलाई जानकारी दिए।

भेटमा मुख्यमन्त्री राईले नेपालले सङ्घीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउँदै शून्य संरचनाबाट शुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधार कानून निर्माण र आवश्यक संरचना तयार भएको बताए। प्रदेश तहमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उनले प्रदेश लोकसेवा आयोग गठन भएकाले समस्या चाँडै समाधान हुने धारणा राखे ।

राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे जानकारी गराउँदै नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यसको व्यवस्थापन र कार्यान्वयनमा केही समय लाग्नु स्वभाविक भएको धारणा व्यक्त गरे । सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायत विषयमा राजदूत कोडीले जिज्ञासा राखेका थिए भने प्रदेश सरकारले गरेका कामको प्रशंसा गर्दै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको भन्दै प्रसंशा गरेका थिए।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिका सम्बन्धी विधेयक प्रदेशसभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले बालबालिकाको अधिकार सुनिश्चित हुने बताए। प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाबारे जानकारी गराएका थिए।

भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क बीचको पनि सहभागिता थियो ।

प्रकाशित मिति: ३० फागुन २०७६, शुक्रबार  १८ : ४५ बजे