चालीस वर्ष नकट्दासम्म बैंकको जागिर सुरु गर्न सकिने, कर्मचारी भर्ना ३ प्रक्रियाबाट

0
Shares

बैंक/वित्तीय संस्थाले खुला प्रतियोगिता, आन्तरिक बढुवा प्रतियोगिता र टयालेन्ट हन्टको परीक्षा मार्फत मात्र कर्मचारी नियुक्त गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक/वित्तीय संस्थाले आफुखुसी मनोमानी ढंगवाट कर्मचारी नियुक्त गरेपछि यस्तो व्यवस्था गरेको हो ।

बिहीबार केन्द्रीय बैंकले बैंक/वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावलीको नमुना बनाई कर्मचारी नियुक्त गर्दा पदपूर्ति समिति गठन गरेर खुला प्रतियोगिता, आन्तरिक बढुवा प्रतियोगिता र टयालेन्ट हन्ट मार्फत मात्र कर्मचारी हायर गर्न सक्ने व्यवस्था गरेको हो ।

विनियमावली अनुसार लिईने परीक्षाको माध्यम लिखित, प्रयोगात्मक, अन्तर्वार्ता, सामुहिक छलफल (आवश्यकता बमोजिम) र उत्कृष्ट उम्मेदवारका छनौंट (ट्यालेन्ट हन्ट) गर्न सक्ने व्यवस्था छ । साथै कुन पदको लागि कस्तो प्रतियोगिता गराउने र कुन प्रकारको परीक्षा लिने भन्ने विषय पदको कार्य प्रकृति तथा आवश्यकताको आधारमा पदपूर्ति समितिले निर्धारण गर्ने व्यवस्था विनियमावलीमा रहेको छ ।

बैंक/वित्तीय संस्थाले आन्तरिक बढुवा गर्दा कार्य सम्पादन मूल्यांकनलाई अधिक अंकभार प्रदान गरिनेछ र सो बाहेक अन्य उपयुक्त परीक्षाको विधि अवलम्वन गर्न सक्नेछन । कर्मचारी छनौट गर्दा लिखित, प्रयोगात्मक र अन्तर्वार्तामध्ये कुनमा कति कति अङ्कको भार दिने भन्ने सम्बन्धमा पदपूर्ति समितिले निर्धारण गर्नेछ । तर, उत्कृष्ट उम्मेदवारको छनौट (टयालेन्ट हन्ट) प्रकृयाबाट पदपूर्ति गर्ने बैंक/वित्तीय संस्थाले पदको प्रकृति, योग्यता तथा अनुभव समेत समावेश भएको पारदर्शी कार्यविधि बनाई लागू गर्नु पर्ने व्यवस्था छ ।

बैंक/वित्तीय संस्थाको रिक्त रहेको पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दा राष्ट्रियस्तरका दैनिक पत्रिकामा कम्तीमा १५ दिनको अवधि तोकी आवेदनका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ । यस्तो विज्ञापन नेपाल सरकारको रोजगार पोर्टलमा समेत प्रकाशित गर्न सकिनेछ । बिज्ञापन गर्दा पूर्ति गर्नुपर्ने पदको संख्या, श्रेणी, आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव, परीक्षाको किसिम, उमेरको हद, दरखास्त दिने अन्तिम मिति तथा सो सम्बन्धी आवश्यक अन्य कुराहरु त्यस्तो बिज्ञापनमा खुलाउनु पर्ने व्यवस्था विनियमावलीमा उल्लेख छ । विज्ञापन बमोजिम प्राप्त हुन आएका निवेदनहरुलाई पदपूर्ति समितिले मापदण्ड तोकी सोही आधारमा आवश्यक छनौट गरी छनौटसूचीमा परेका उम्मेदवारहरुको बीचमा प्रतियोगितात्मक परीक्षा सञ्चालन गर्नु पर्नेछ ।

बैंक/वित्तीय संस्थाले विज्ञापन गर्दा बैंकको नाम उल्लेख नगरी विज्ञापन गर्न वा अन्य संस्थामार्फत विज्ञापन गराई त्यस्तो संस्था मार्फत सर्टलिष्ट गर्ने र लिखित परीक्षा लिने कार्य गर्न माथि लेखिएको कुनै कुराले वाधा पुगेको मानिन छैन । सरकारी स्वामित्वमा संचालित बैंक तथा वित्तीय संस्थाको हकमा लोक सेवा आयोगद्धारा जारी गरिएको संगठित संस्थाको कर्मचारी सेवाका शर्त सम्वन्धी कानून, बढुवा र विभागीय कारवाही सम्वन्धी सामान्य सिद्धान्तको समेत पालना गरी कार्य सम्पादन गर्नु पर्नेछ।

बैंक/वित्तीेय संस्थाको रिक्त पद नयाँ नियुक्तिद्वारा पूर्ति गर्दा देहायका ब्यवस्थापकीय श्रेणीमा सेवा प्रबाह गर्ने उमेद्धवारका लागि २१ बर्ष पुरा भएको तर माथिल्लो उमेरको हद सञ्चालक समितिको सहमतिमा पदपूर्ति समितिले निर्धारण गर्न सक्छ । त्यसैगरी अधिकृत श्रेणी २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको हुनु पर्ने व्यवस्था विनियमावलीले गरेको छ । त्यसैगरी सहायक श्रेणीका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने व्यवस्था छ । सहयोगी श्रेणीका लागि पदपूर्ति समितिले निर्धारण गरे बमोजिम हुने विनियमावलीमा उल्लेख छ ।