अपि पावरको बोनस र हकप्रदपछिको शेयर मूल्य समायोजन

0
Shares

अपि पावर कम्पनी (API) को बोनस तथा हकप्रद प्रयोजनका लागि शेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। जसका लागि कम्पनीले बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन भएको हो।

साधारण सभा, लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २९ गतेसम्म कायम शेयरधनीहरुले लाभांश तथा हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र आर्थिक वर्ष २०७४/७५ को चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ७२ हजार पुग्नेछ।

 

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  ०८ : ४० बजे