शेयर कारोबार समय थपियो, आजदेखि ५ घण्टा ३५ मिनेट खुल्ने

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजदेखि दैनिक कारोबार समय एक घण्टा २० मिनेट थप गरेको छ। धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले आइतबार देखि परिक्षणका लागि दैनिक नियमित कारोबार समय १ घण्टा बढाएर ५ घण्टा बनाएको छ। यसका अतिरिक्त १५ मिनेट प्रारम्भिक कारोबार र ५ मिनेट अन्तिम कारोबार समय थप गरिएको हो।

आइतबार देखि नेप्सेमा प्रारम्भिक कारोबार १० बजेर ३० मिनेट पछि सुरु हुनेछ। ११ बजे नेप्सेको नियमित कारोबार हुनेछ भने ४ बजे नियमित कारोबार बन्द भएपछि पनि ५ मिनेट अन्तिम कारोबार हुनेछ।

नेप्सेका अनुसार प्रारम्भिक, नियमति र अन्तिम कारोबारका लागि गरी दिनभरमा ५ घण्टा ३५ मिनेट नेप्से खुल्नेछ।

यसअघि नेप्सेमा दैनिक ११ बजेदेखि ३ बजेसम्म नियमित र साढे १० बजेदेखि १५ मिनेट प्रारम्भिक गरि कूल ४ घण्टा १५ मिनेट कारोबार हुँदै आएको थियो।

आज देखि भने साढे १० देखि ३० मिनेट प्रारम्भिक, ११ बजेदखि ४ बजेसम्म नियमित र ४ बजेपछि ५ मिनेट अन्तिम कारोबार गर्न सकिनेछ।

नेप्सेमा आइतबार देखि बिहीबारसम्म कारोबार हुने गरेको छ। यसरी नेप्सेको कारोबार प्रणाली बिहान साढे १० बजेदेखि साँझ ४ बजेर ५ मिनेसम्म खुल्नेछ। तर, यो सबै समयमा एकै प्रकृतिको कारोबार मात्र भने नहुने नेप्सेले जनाएको छ।

नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विस्तार तथा लगानीकर्ताको हितका लागि दैनिक कारोबार समय थप गरेको जनाएको छ। कारोबार समय छोटो भएकाले पनि शेयर बजारमा अस्वभाविक चलखेल बढेको हुनाले त्यसलाई कम गर्न पनि कारोबार समय बढाउनु परेको बोर्डको भनाई छ।

विश्वका चर्चित शेयर बजारहरुमा कति समय कारोबार हुन्छ ? विवरण सहित

सार्वजनिक विदाका दिन बाहेक नेप्सेमा एक सातामा ५ दिन शेयर किनबेच हुन्छ । नयाँ व्यवस्था लागू भएपछि धितोपत्र बोर्डको अर्को सूचना नआएसम्मका लागि दैनिक कारोबार समय ५ घण्टा हुनेछ। अहिले परिक्षण अवधिमा रहेको हुनाले दिर्घकालीन रुपमा यो व्यवस्था लागू हुनका लागि धितोपत्र बोर्डको पुन: अर्को निर्देशन पछि मात्र परिक्षणकाल समाप्त गरी पूर्ण रुपमा दैनिक ५ घण्टा कारोबार हुने नेप्सेले जनाएको छ।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १० : ०३ बजे