कोरोनाको असर सम्बोधन गर्न निजी क्षेत्रका प्रतिनिधिमण्डलद्धारा बृहत राहत प्याकेज ल्याउन माग

0
Shares

कोरना भाइरसका कारण उद्योग व्यवसायमा गम्भिर असर पर्न थालेपछि आइतबार निजी क्षेत्रका प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर उद्योग व्यवसाय बचाउन बृहत किसिमको राहत प्याकेज ल्याउन माग गरेको छ।

अर्थमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलले बैंकहरुबाट सहज रुपमा पुनरकर्जाको सुविधा उपलब्ध गराउन, चैतभित्र तिर्नुपर्ने करको समयावधि थप्न, कर्जाको ब्याजदरको माथिल्लो सीमा तोक्न तथा समयमा नै कर्जा असुली हुन नसकेको खण्डमा केही समयका लागि प्रोभिजनिङ्गको व्यवस्था नगर्न सुझाव दिएका छन्।

उनीहरुले कोरना भाइरसबाट पर्यटन क्षेत्रमा ठूलो असर गरेको बताउँदै यस क्षेत्रका लागि विशेष व्यवस्था गर्न माग गरेका छन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले विश्वभर फैलिएको कोराना भाइरस नेपालमा नफैलिएपनि अर्थतन्त्रमा भने भुँइचालो ल्याउन थालिसकेकोले बताउँदै त्यसबाट बचाउनका लागि सरकारसँग माग गरेको नोटबजारलाई जानकारी दिए।

उनले व्यवसायीलाई पुनरकर्जाको सुविधा व्यवस्था गर्न, सरकारको विभिन्न फण्डहरुमा रहेको निक्षेप बैंकहरुमा पठाई बैंक ब्याजदर घटाउन, चैत मसान्तभित्र तिर्नुपर्ने करको समयावधि बढाउन र निजी क्षेत्रलाई यस संक्रमणकालीन अवस्थामा सम्बोधन गर्न सुझाव दिउको जानकारी दिए।
निजी क्षेत्रले दिएको सुझावमा अर्थमन्त्री सकारात्मक रहेको जानकारी दिँदै अध्यक्ष मोरले जवाफमा सरकारले कोरनाबाट अर्थतन्त्रमा पर्ने असरको अध्ययन गरिरहेको र आवश्यक पर्दा राहतको प्याकेज ल्याउने प्रतिबद्धता जनाएको जानकारी दिए।

सो भेटवार्तामा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, होटल एसोसियसनकी अध्यक्ष सिर्जना राणा र नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवनकुमार दाहालको समेत सहभागिता रहेको थियो।