पूँजी बजारको प्राथमिक बजार (आईपीओ) मा कसरी प्रवेश गर्न सकिन्छ ?

0
Shares

धेरै लगानीकर्तालाई अहिले पनि शेयर बजारमा कसरी लगानी गर्न सकिन्छ भन्ने जानकारी नहुन सक्छ। शेयर बजारप्रति चासो नदिने र हालसम्म शेयर लगानी नगरेका नयाँ लगानीकर्ताहरु पनि यस विषयमा अनविज्ञ नै रहेका हुनसक्छन्।  .

यीनै अन्यौलतालाई हटाउन हामीले यहाँ धितोपत्रको प्राथमिक बजारमा कसरी प्रवेश गर्न सकिन्छ र के के प्रकृया पूरा गरेपश्चात शेयर बजारमा लगानी गर्न सकिन्छ भन्ने जानकारीमूलक सामाग्री तयार गरेका छौं।

नेपालमा सार्वजनिक निष्काशनमा आउने कम्पनीको विवरणपत्र मार्फत जारी गरिने साधारण शेयर खरिदका लागि नेपाली नागरिकले दरखास्त दिन सक्छन। 

त्यसका लागि सर्वप्रथम लगानी गर्न चाहने व्यक्तिसँग बैंक खाता र लगानीका लागि खातामा प्रयाप्त रकम तथा हितग्राही खाता (शेयर जम्मा गर्ने खाता) हुन आवश्यक हुन्छ। हालसम्म खाता नभएकाले पनि कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यी दुबै खाता खोल्न सक्छन्।

यसरी दुबै खाता खुला भएपश्चात आवेदनका लागि सिआस्वा प्रणालीबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्था मार्फत मात्र आवेदन दिनुपर्ने हुन्छ। आवेदकले आवेदन दिनुपूर्व आफ्नो खाता रहेको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा गई “धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रिकृत विद्युतीय सेवा कार्य सञ्चालन निर्देशिका, २०७४” को अनुसूची ४ बमोजिमको सिआस्वा रजिष्ट्रेशन फारम भरि सिआरएन नम्बर लिनुपर्ने हुन्छ।

आवेदकले सिआरएन नम्बर प्राप्त गरेपश्चात शेयर खरिदका लागि तोकिएको ढाँचामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा धितोपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। यसरी आवेदकले आवेदनमा उल्लेख गरेको हितग्राही परिचय नं. र अन्य विवरण सिआस्वा सफ्टवेयरमा रहेको आवेदकको हितग्राही खाता र अन्य विवरणसँग रुजु हुनुपर्ने हुन्छ। अन्यथा सो आवेदन प्रवृष्टि हुन सक्दैन।

आवेदकले आवेदन फारममा धितोपत्र निष्काशनकर्ता कम्पनीको नाम, आवेदकको नाम, थर, ठेगाना, नागरिता नं., दरस्तखत, सम्पर्क फोन नं., इमेल, नाबालक र विक्षिप्त व्यक्तिको हकमा संरक्षकको नाम, थर र नाता, खरिद गर्न चाहेको धितोपत्रको संख्या , खरिद गर्न चाहेको धितोपत्र बापतको रकम, खाता नं., आवेदकको हितग्राही (डिम्याट) खाता नम्बर जस्ता आवश्यक कुराहरु उल्लेख गर्नुपर्छ।

यसरी आवेदन गर्ने आवेदककको खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्कृय (डोरम्याट) रहेको हुनुहुँदैन। यस्तै आवेदन बराबरको रकम खातामा हुनुपर्नेछ । एक व्यक्तिले आफूले खरिद गर्न चाहेको साधारण शेयरको लागि एक भन्दा बढी दरखास्त दिन पाउँदैनन्। यदि एक व्यक्तिको नाममा एक भन्दा बढी आवेदन प्राप्त हुन आएमा सम्पूर्ण दरखास्तलाई रद्द गरिन प्रावधान रहेको छ।

यसका अलवा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको “मेरो शेयर” सफ्टवेयरबाट पनि आवेदकले आवेदन गर्न सक्नेछन्। त्यसका लागि आवेदकले आफ्नो हितग्राही खातामा बैंक खाताको विवरण उल्लेख गरिसकेको हुनुपर्नेछ र सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर लिइसकेको हुनुपर्नेछ।

यस विवरणपत्र मार्फत निष्काशन गरिने शेयरका लागि न्यूनतम १० (दश) कित्ता तथा सो भन्दा बढीका लागि १० (दश) अंकले भाग जानेगरि निष्काशन भएको अधिकतम संख्याका लागि आवेदन दिन सकिन्छ। जस अनुसार न्यूनतम एक हजार रुपैयाँदेखि नै शेयर बजारमा लगानी गर्न सकिन्छ।

यद्यपी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा धितोपत्र बाँडफाँड हुन्छ। यसरी बाँकी रहेको धितोपत्र पुन १०/१० कित्ताका दरले बाँडफाँड गरिन्छ। यस व्यवस्था अनुपात अनुसार पछिल्लो समयको आवेदनमा पाँच हजारको आवेदन नै प्रयाप्त रहँदै आइरहेको छ।

यसरी निष्काशन भएको धितोपत्र सार्वजनिक निष्काशन बन्द भएको एक हप्ताभित्र बाँडफाँड हुने गर्दछ। यस्तै बाँडफाँड भई सूचीकरण भए पश्चात बाँडफाँडमा परेका आबेदकहरुलाई बाँडफाँडमा परेको शेयर निजहरुको हितग्राही खातामा जम्मा गर्ने व्यवस्था छ।  यसरी लगानीकर्ताले आफ्नो हितग्राही खातामा शेयर प्राप्त गरिसकेपछि धितोपत्र दलाल व्यवसायीकहाँ कारोबार खाता खोली दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन्।