‘नागरिक स्टक डिलर’ ले शेयर बजारमा ३५ अर्बसम्म लगानी गर्नसक्ने

0
Shares

नागरिक लगानी कोषको नेतृत्वमा संचालनमा आउन लागेको ’नागरिक स्टक डिलर’ कम्पनीले अधिकतम ३५ अर्ब रुपैयाँसम्म शेयर बजारमा लगानी गर्नेछ ।

गत माघ माघ २९ गते दर्ता भएको ५ अर्ब चुक्ता पूँजीको ’नागरिक स्टक डिलर’ कम्पनीले आगामी जेठदेखि शेयर बजारमा लगानी गर्ने तयारी थालेको हो ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले स्टक डिलर कम्पनीको बोर्ड गठन भैसकेको जानकारी दिदै कम्पनीको भौतिक पूर्वाधार निमार्ण, आवश्यक सफ्टवेयर, कार्यालय संचालनका लागि आवश्यक उपकरणका साथै कर्मचारी भर्नाको प्रक्रिया सम्पन्न हुँदा साथ काम सुरु गर्ने बताए ।

“आगामी जेठसम्म यी सबै काम सम्पन्न भईसक्छन् त्यसपछि हामी बजारमा प्रवेश गर्छो,”नेपाले भने,“हालको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न सक्छ ।” यस आधारमा चुक्ता पूँजी सहित बजारमा कुल ३५ अर्बसम्म लगानी गर्नसक्ने उनले बताए ।

कम्पनीले आगामी दिनमा चुक्ता पूँजी बढाउँदै लग्ने भएकाले बर्षेनी कम्पनीको लगानी क्षमता बढ्दै जाने र सोही अनुरुप बजारमा लगानी बढाउँदै लैजान सकिने उनको भनाई छ । सो कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर रहने छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी हुनेछ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ ।

शेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । नेपाल धितोपत्र बोर्डले नियमावली संशोधन गराएर कोषलाई स्टक डिलरको रुपमा काम गर्ने बाटो खोलिदिएपछि कोषले कम्पनी दर्ता गराएको हो ।