वोमीको १९ हजार कित्ता कारोबार रद्द हुने, मंगलबार पुन: मूल्य समायोजन

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) को चैत २ र ३ गते भएको १९ हजार १७४ कित्ताको १ करोड ६७ लाख ८० हजार ४१४ रुपैयाँ बराबरको शेयर कारोबार रद्ध भएको छ।

नियामक निकाय नेप्सेबाटै गलत आँकडालाई आधार मानी भएको गलत निर्णयका कारण आइतबार र सोमबार शेयर खरीद गरेका लगानीकर्ताको कारोबार रद्ध भई मंगलबार पुन १० प्रतिशत मूल्यमा समायोजन भई कारोबार हुने भएको हो।

नेप्सेले शुक्रबार लघुवित्तको बोनस शेयरमा समायोजन गर्दा भएको गल्तिलाई सुधार्न पुन मूल्य समायोजनको तयारी थालेको हो।

नेप्सेले शुक्रबार असार मसान्तको चुक्ता पूँजीबाट वितरित २५ प्रतिशत बोनस शेयर समायोजन पश्चातका प्रतिकित्ता ८५६ रुपैयाँ कायम गरि आइतबार कारोबार खुला गरेको थियो। तर लघुवित्तले असार पश्चात शतप्रतिशत हकप्रद र नागरिक लघुवित्तसँग एकीकृत कारोबार थालिसकेकाले फागुन ३० गतेको बुकक्लोजका आधारमा १० प्रतिशत बोनसमा शेयरमूल्य समायोजन हुनुपर्ने थियो।

गलत शेयरमूल्य समायोजनको लगानीकर्ताबाट व्यापक विरोध भएपछि नेप्सेले समायोजन भएपछिका सम्पूर्ण कारोबार रोक्का गरिएको नेप्सेले सोमबार जनाएको हो । यसबीचमा समायोजित मूल्यभन्दा प्रतिकित्ता ५१ रुपैयाँ माथिसम्म ९०७ मा कारोबार भएकोमा कारोबार रद्ध हुने संकेतपछि सोमबार कम्पनीको शेयरमूल्य घटेर कारोबार भएको थियो। समायोजन पश्चात आइतबार १७ हजार ७०५ कित्ता १ करोड ५४ लाख ७५ हजार ४३७ रुपैयाँमा र सोमबार १ हजार ४६९ कित्ता शेयर १३ लाख ४ हजार ९७७ रुपैयाँमा कारोबार भएको थियो।

अब आज १० प्रतिशत बोनस शेयर समायोजन पश्चात समायोजित मूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ। बिहीबार लघुवित्त कम्पनीको प्रतिकित्ता १ हजार ७० रुपैयाँमा कारोबार बन्द भएको थियो। यसअनुसार मंगलबार १० प्रतिशत बोनस पश्चात ९७२.७२ रुपैयाँलाई आधार मानेर वोमीको शेयर कारोबार सुचारु हुनेछ।

प्रकाशित मिति: ४ चैत २०७६, मंगलबार  ०९ : १८ बजे