पुनर्बीमा कम्पनीको आईपीओमा १.२७ गुणा आवेदन, शुक्रबार बन्द हुने

0
Shares

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मंगलबारदेखि सर्वसाधरणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) दोस्रो दिन बुधबार १ बजेर ७ मिनेट सम्ममा १.२७ गुणा बढी आवेदन परेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार १ लाख ५० हजार आवेदकबाट १ अर्ब ९१ करोड ७६ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ७६ हजार ७६० कित्ताका लागि माग आवेदन परेको हो।

कम्पनीले चैत ४ गतेदेखि १०० रुपैयाँ अंकित दरमा १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो।

कूल १ करोड ६० लाख कित्ता शेयर बिक्रीमा ल्याएकोमा ७३ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी शेयर सर्वसाधारणबाट आवेदन खुला गरिएको हो।

मंगलबार साँझ साढे ५ बजेसम्म २७ हजार ३५९ आवेदकबाट ४२ करोड ८० लाख २९ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेको थियो । मेरो शेयर सफ्टवेयरबाट आवेदन भर्न समस्या आएकाले दिउँसो शेयर आवेदन गर्न नपाएका लगानीकर्ताले बेलुका उच्च आवेदन गर्दा कम्पनीको शेयर पहिलो दिन रातीसम्ममा बिक्री भएको हो।

इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

कम्पनीको आईपीओ निष्काशन छिटोमा चैत ७ गते बन्द हुनेछ। पहिलो दिनमा नै सबै शेयर बिक्री भैसकेकाले कम्पनीको धितोपत्र शुक्रबार कार्यालय समयपश्चात नै निष्काशन बन्द हुने भएको हो।

क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा एनपी आईपीओ ग्रेड २ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय आधारभूत अवस्था औषतभन्दा माथि रहेको जनाउँछ।

इक्राले १ देखि ५ सम्म ग्रेडिङ्ग प्रदान गर्दै आएको छ। ग्रेड १ ले सबैभन्दा बलियो आधार रहेको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधार रहेको संकेत गर्दछ।