सात स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी

0
Shares

हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार सरकारी नीति अनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भई बैंकिङ्ग पहुँच कायम भएको हो।

अब ७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा विस्तार हुन बाँकी रहेको छ। केन्द्रीय बैंकको अनुसार सुदूरपश्चिम र वाग्मति प्रदेशको दुई।दुई स्थान, तथा गण्डकी, कर्णली र प्रदेश नम्बर १ को एक।एक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार हुन बाँकी रहेको हो। प्रदेश नम्बर २ (१३६ स्थानीय तह) र ५ को सबै (१०९) स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भैसकेको छ ।

केन्द्रीय बैंकका अनुसार माघ मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, र लघुवित्तको गरि कूल १६४ वटा संस्थाले ९ हजार ५५० वटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रवाह भएको छ। पूर्वाधार विकास बैंकको शाखा १ वटा छ।

जसमध्ये २७ वटा वाणिज्य बैंकको कूल शाखा संख्या ४ हजार ७७ वटा, २४ विकास बैंकको शाखा संख्या १ हजार ३११ वटा, २२ वित्त कम्पनीको २३३ वटा, ९० वटा लघुवित्त संस्थाले ३ हजार ९२९ वटा शाखा सञ्जाल विस्तार गरेका छन्।

माघ एक महिनामा मात्रै वाणिज्य बैंकको ६६ वटा, विकास बैंकको १८, वित्त कम्पनीको ४ शाखा, र लघुवित्त कम्पनीहरुले ६८ वटा गरि कूल १५६ वटा शाखा विस्तार गरेका हुन्।

२०७६ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थाको संख्या १७१ वटाबाट घटेर १६४ मा झरेको छ भने शाखा संख्या ८६४ ले बढेर ९ हजार ५५० पुगेको छ। २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ६८६ रहेको थियो।