शेयर कारोबार तत्कालका लागि बन्द गर्न बोर्डमा छलफल, निर्णय हुन बाँकी

0
Shares

नेपाल धितोपत्र बोर्डले तत्कालका लागि शेयर कारोबार बन्द गर्न सहमत जनाएको छ । लगानीकर्ताहरुको छलफलमा बोर्डले सरकारको निर्देशन प्राप्त भए बोर्डले शेयर कारोबार केहि समयका लागि बन्द गर्नृ जनाएको छ।

कोरना संक्रमणबाट सरकारले घोषणा गरेका कार्यक्रमहरु सहयोग पुर्याउन शेयर कारोबार केही समयका लागि बन्द गर्नुपर्ने माग लिएर बोर्ड पुगेका लगानीकर्ताहरुसँगको छलफलमा बोर्डले बजार बन्द गर्न सहमत जनाएको हो।

तर, यसका लागि सरकारको निर्देशनको पर्खाइमा रहेको बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता निरज गिरीले लगानीकर्ताको माग माथिल्लो निकायसम्म पुर्याउने र सरकारले सहमति दिएमा केहि समयका लागि कारोबार बन्द गर्न सकिने बताए । तर यस बिषयमा कुनै आधिकारिक निर्णय नभएको प्रवक्ता गिरीले बताए।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन भएको र कोरोना सन्दर्भमा उक्त समतिबाट सबै काम भईरहेकाले बोर्डले कोरानाको कारण आफ्नै तबरबाट शेयर कारोबार बन्द भने नगराउने भएको छ। नेप्से र बोर्डले चाहेमा एक साताका लागि कारोबार बन्द गर्न सक्छन् ।

सरकारले बुधबार सूचना जारी गर्दै बढी भीडभाड भएको ठाउँमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि रोक लगाइएको छ । ब्रोकर कार्यालयहरुमा २५ भन्दा बढी कै उपस्थिति हुने गरेकाले शेयर लगानीकर्ताहरुले तत्कालका लागि शेयर कारोबार बन्द गर्नुपर्ने माग बोर्डमा राखेका थिए।

बोर्डले नेप्से, लगानीकर्ता संघ संस्था, ब्रोकर लगायतलाई कारोबार के गर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको थियो।

सरकारले बुधबार कोरोना भाइरस संक्रमण फैलन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार बन्द गर्ने निर्णय गरेको थियो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत मसान्तसम्म (१२ अप्रिल) का लागि ती क्षेत्र बन्द गर्ने निर्णय बुधबार गरेको हो ।