विद्युतीय भुक्तानीको सीमा बढाउन राष्ट्र बैंक तयार

0
Shares

नेपाल राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विद्युतीय भुक्तानी प्रणालीको सीमा पुनरावलोकन गर्न सकिने जनाएको छ । नगदमा कारोबार गर्दा कोरोना भाइरसको संक्रमण फैलने सक्ने खतरा रहेपछि विद्युतीय भुक्तानीलाई प्राथमीकता दिँदै केन्द्रीय बैंकले पनि भुक्तानीका सीमाहरु हेरफेर गर्न सकिने जनाएको हो ।

बैंक/वित्तीय संस्था तथा डिजिटल बैंकिङ सेवा प्रदायक कम्पनीहरुले कोरोनाको संक्रमणबाट बच्न/बचाउन डिजिटल बैंकिङ प्रणाली प्रयोग गर्न प्रेरित गरिरहेको अवस्था छ । यी संस्थाहरुले डिजीटल भुक्तानीको माध्यम प्रयोग गर्दा सेवा शुःल्क समेत नलाग्ने जनाएका छन् । तर, डिजिटल बैंकिङ मार्फत गरिने कारोबार निश्चित सीमामा रहेर गर्नुपर्ने भएकाले दैनिक जिवनयापनाका लागि प्रयाप्त नहुने सर्वसाधारणको गुनासो रहेको छ । त्यसका साथै वित्तीय कारोबार गर्ने सबै व्यक्ति तथा संस्थाहरुले डिजिटल कारोबार स्विकार गर्ने अवस्था पनि नभएको सर्वसाधारणको भनाइ छ ।

तर, अहिलेको अवस्थामा ठूलो कारोबार नहुने भएकाले दैनिक जिवनयापनाका लागि हुने वित्तीय कारोबारलाइ केन्द्रीय बैंकको हालको विद्युतीय भुक्तानीको सीमा प्रयाप्त रहेको नेपाल राष्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

“सामान्य किनमेलका लागि हालको विद्युतीय कारोबारको सीमाले पुग्छ,” उनले भने,“भोलि जटील अवस्था आएको खण्डमा कारोबार सीमामा पुनरावलोकन गर्न सकिन्छ ।” कोरोना भइरसका कारण सबै क्षेत्र प्रभावीत भएकाले वित्तीय कारोबारमा ठूला डिल हुने सम्भावना न्यून रहेको हुनाले डिजिटलाइजेसनलाई प्रोत्साहन गर्ने अवसरको रुपमा पनि सदुपयोग गर्नुपर्ने उनको बुझाइ छ।

अहिले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले नेपाल प्रत्यक्ष असर नगरेको भएपनि सचेतना अपनाउने र होसीयार हुन जरुरी छ ।

यस्तो अवस्था मोर्डन बैंकिङमा जाने अवसर पनि रहेको भट्टले बताए । यसलाई विस्तार गरेर क्यासलेस सोसाइटीलाइ परिकल्पना गर्ने गरी अहिलेको विषम अवस्थालाई सहज हुने गरी अवसरको रुपमा लिइ विद्युतीय कारोबार गर्नु उपयुक्त हुने भट्टको भनाइ छ ।

“तर, नोट मार्फत संक्रमण फैलिन्छ भनेर सर्वसाधारणलाइ त्रसीत गर्ने काम गर्नु भएन,” उनले भने,“सकभर नोटको कम प्रयोग गर्नु पर्यो । संक्रमणको स्रोत नै नोट हो भनेर प्रचार गरेर व्यवसाय विस्तार गर्न खोज्नु राम्रो होइन ।”

बैंक वित्तीय संस्थाका छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, वित्त कम्पनी संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै नगद भन्दा पनि विद्युतीय कारोबारलाइ जोड दिन अनुरोध गरीसकेका छन् ।

त्यसैगरी यी संस्थाहरुले जुनसुकै एटिएम मार्फत कारोबार गर्दा सेवा शुल्क नलाग्ने, विद्युतीय माध्यमवाट गरीने वित्तीय कारोबारलाइ निशुल्क बनाउनुका साथै नेपाल क्लियरीङ हाउस मार्फत सञ्चालन भएको कनेक्ट आइपीएस सेवामा समेत कुनै शुल्क नलाग्ने जनाएका छ । त्यसैगरी इसेवाले पनि इसेवा मार्फत वित्तीय कारोबार गर्दा सेवा शुल्क नलाग्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कार्डको माध्यमबाट कारोबार गर्दा प्रिपेड कार्ड मार्फत दैनिक न्यूनतम पाँच सय देखि २५ हजार प्रति कारोबारको सीमा रहेको छ। त्यसैगरी डेबिट कार्ड मार्फत न्यूनतम ५ सय देखि २५ हजाररुपैयाँ सम्म एक कारोबारमा झिक्न सकिन्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म झिक्न सकिन्छ । त्यसैगरी कियोस्क टर्मिनलबाट प्रति कारोबार २५ हजार र प्रति दिन ५० हजार भुक्तानी दिन सकिन्छ । एनएफसी कार्ड मार्फत प्रति दिन २ हजार रुपैयाँ भुक्तानी दिने सकिने् व्यवस्था रहेको छ ।

क्रेडिट कार्डबाट नगद कारोवार गर्न पाइने छैन । तर ग्राहकलाई अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमा रकमको १० प्रतिशतसम्म नगद झिक्न सकिने व्यवस्था केन्द्रीय बैंकको छ । प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम एक लाख मात्रसम्मको कार्ड जारी गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानीको सीमा यस प्रकार रहेको छ ।

मोवाइल बैंकिङ क्यूआर कोर्ड समेत गरी प्रति दिन ५० हजार र प्रति महिना २ लाख रुपैयाँ सम्म, इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्ट मार्फत दैनिक १० लाख र मासिक ३० लाख, इन्टरनेट बैंकिङ माफृत दैनिक १० लाख र मासिक ५० लाख रुपौयँ सम्मको कारोबार गर्न सकिन्छ । तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्न यो व्यवस्थाले बाधा नपु¥याउने राष्ट्र बैंकको व्यवस्था छ ।

त्यसैगरी बालेट मार्फत कारोबार गर्दा फण्ड ट्रान्सफर तथा भुक्तानीको सीमा सम्बन्धमा एजेन्ट वा सव एजेन्ट मार्फत बालेटमा पैसा प्रतिदिन २५ हजार र प्रति महिना एक लाख रुपैयाँसम्म राख्न सक्नेछन । बैंक खाताबाट वालेटमा प्रति कारोबार २५ हजार, प्रति दिन १ लाख र प्रति महिना ५ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने व्यवस्था छ ।

वालेटबाट अन्य बैंक खातामा प्रति दिन २५ हजार र प्रति महिना ५० हजार तथा एक वालेटबाट अर्को वालेटमा प्रति दिन २५ हजार प्रति महिना ५० हजार रुपैयाँसम्मको वित्तीय कारोबार गर्न सकिन्छ । तर, वालेटमा अधिकतम २५ हजार भन्दा बढी मौज्दात अभेरनाइट राख्न पाइनेछैन । साथै, वालेटबाट वालेट वाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा लाग्ने छैन ।