एक सातामै दश कम्पनीको ५२ अर्बले घट्यो बजार पूँजीकरण

0
Shares

शेयर बजार परिसूचक नेप्से १०७ अंकले घट्दा सातामा उच्च पूँजीकरण हुने १० कम्पनीको कूल बजार पूँजीकरणमा ५१ अर्ब ९६ करोड २७ लाख रुपैयाँ बराबरको गिरावट भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार १७ खर्ब ६० अर्ब ९२ करोड रुपैयाँ रहेको कूल बजार पूँजीकरण हप्तामा १ खर्ब ३७ अर्ब ९० करोड १५ लाख रुपैयाँले घटेर १६ खर्ब २३ अर्ब ०२ करोड ५८ लाखमा झरेको हो।

साताभरिमा कूल १ खर्ब ३७ अर्ब ९० करोड १५ लाख रुपैयाँले बजार पूँजीकरण घटेकोमध्ये शिर्ष १० कम्पनीकै ५१ अर्ब ९६ करोड २७ लाख रुपैयाँले घटेको हो। कूल घटेको बजार पूँजीकरणमध्ये शिर्ष १० पूँजीकरण भएका कम्पनीहरुको हिस्सा ३७.६८ प्रतिशत रहेको छ।

यस साता एनएमबि बैंकको ११.६७ प्रतिशतले पूँजीकरण घटेको छ भने हिमालयन बैंक, नेपाल लाईफ, एभरेष्ट बैंकको १० प्रतिशत बढीले पूँजीकरण घटेको छ। सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीको घटाई भने सबैभन्दा कम ३.६३ प्रतिशतले मात्र घटेको छ।

सातामा एनएमबि बैंकको कूल बजार पूँजीकरण ७ अर्ब ११ करोड ५० लाख रुपैयाँले घटेर ५३ अर्ब ८५ करोड ८ लाख रुपैयाँमा झरेको हो। गत साता यस कम्पनीको कूल बजार पूँजीकरण ६० अर्ब ९६ करोड ५८ लाख रहेको थियो।

त्यसैगरि नेपाल लाईफको ७ अर्ब ३ करोड ५० लाख, एभरेष्ट बैंक ६ अर्ब ४० करोड ५४ लाख, नबिल बैंकको ६ अर्ब ५ करोड १२ लाख, हिमालयन बैंक ५ अर्ब ९९ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५ अर्ब ४ करोड ७२ लाख, एनआईसी एशिया बैंक ३ अर्ब ९८ करोड ४२ लाख, ग्लोबल आईएमई बैंक ३ अर्ब ६० करोड ५४ लाख, र नेपाल इन्भेष्टमेन्ट बैंकको ३ अर्ब २७ करोड ८ लाख रुपैयाँले बजार पूँजीकरणमा ह्रास भएको छ।

सबैभन्दा धेरै बजार पूँजीकरण रहेको नेपाल दूरसञ्चार कम्पनीको सातामा ३ अर्ब ४५ करोडले पूँजीकरण घटेर ९१ अर्ब ५० करोड रुपैयाँमा झरेको हो। गत साता यस कम्पनीको कूल बजार पूँजीकरण ९४ अर्ब ९५ करोड रहेको थियो।