नयाँ बसपार्कमा चालक,यात्रु र कर्मचारीलाई माक्स वितरण,‘हेल्थ डेक्स’ स्थापना

0
Shares

कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँबसपार्कमा माक्स वितरण गरिएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको संयुक्त आयोजनामा आज चालक, सहचालक, बसपार्कभित्र कार्यरत कर्मचारी र यात्रुलाई माक्स वितरण गरिएको हो ।

नेपाल प्रहरीले विभिन्न कालोबजारी गरेका व्यापारीबाट जफत गरेर ल्याएको माक्स यातायात व्यवस्था विभागले खरिद गरेर वितरण गरेको जनाइएको छ ।

डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा निःशुल्क रुपमा मास्क वितरण गर्दै डोटी चेम्बर अफ कमर्सका पदाधिकारी । तस्वीर: विमलबहादुर विष्ट/रासस

विभागका प्रवक्ता तीर्थराज खनाल एक लाख माक्स खरिद गरेर ल्याएको र आजमात्र नयाँ बसपार्कबाट पाँच हजार थान माक्स वितरण गरेको जानकारी दिए।

महासङ्घका महासचिव सरोज सिटौला चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमणबाट जोगिनका लागि थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले माक्स वितरण गरिएको जानकारी दिए । “यातायात मजदूर र यातायात व्यवसायीको सक्रियतामा सरकारसँग सहकार्य गरी ल्याएको माक्स कर्मचारी, चालक, सहचालक र यात्रुमा वितरण गरेका हौँ”, उनले भने ।

महासचिव सिटौला सबै प्रदेशमा सरकारसँगको सहकार्यमा चालक र सहचालकलाई माक्स वितरण गर्नेबारे यातायात व्यवसायी छलफलमा रहेको जानकारी दिनुभयो । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले माक्स नलाउने चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको जानकारी दिए । यसअघि शुक्रबार नयाँबसपार्कमा कोरोना परीक्षणका लागि सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको थियो ।

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १८ : ५४ बजे