भारत र चीनसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय, कोरोना रोकथामका लागि ५० करोडको कोष

0
Shares

मन्त्रिपरिषदको बैठकले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरण र विविध विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मिन्त्रपरिषदको बैठकले चैत १० गते सोमबार बिहान १० बजेदेखि लागू हुने गरी भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो।

भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो।

साथै सरकारले कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ। सो कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने निर्णय समेत गरेका छन्। उक्त कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय गरिएको छ।

बैठकमा कोभिड १९ को रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णय र तिनका कार्यान्वयनबारे समीक्षा समेत भएको एक मन्त्रीले जानकारी दिए ।

गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक अघि प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग नियमित भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गरेका थिए।