माथिल्लो तामाकोशी आयोजनामा कोरोनाको प्रभाव न्यून, निमार्ण धमाधम

0
Shares

माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव नपारेको आयोजनाले जनाएको छ। आयोजनाको बाँधलगायत हेडवक्र्सको प्राविधिक परीक्षण धमाधम भईहेको आयोजनाले जनाएको छ।

स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलगलगायत अन्य हेडवक्र्सका संरचनाको प्राविधिक परीक्षण शुरु भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए।

उनका अनुसार परीक्षणका क्रममा बाँधमा पानी राखेर परीक्षण शुरु गरिएको र अहिलेसम्मको परीक्षण राम्रो रहेको छ। परीक्षणको काम आवश्यकताअनुसार दुई हप्तासम्म चल्न सक्ने परीक्षणमा संलग्न प्राविधिकहरुले बताएका छन् । आयोजनामा मुख्य कामदार र प्राविधिक चिनियाँ, इटालियाली र भारतीय नागरिक छन् तर उनीहरु कोरोनाको समस्या हुनुअघिदेखि नै निरन्तर आयोजनाको काममा नै रहेकाले समस्या नभएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

आयोजनामा ठेकेदार कम्पनीको काममा अहिलेसम्म समस्या नभए पनि कन्सल्टेन्टको काममा भने केही समस्या देखिएको छ । कोरोना भाइरसको प्रकोपपछि आयोजनाको कन्सल्टेन्ट कम्पनीमा काम गर्ने विज्ञ तथा प्राविधिकले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ।

नेपालमा कोरोनाको समस्या नरहेको र आयोजनामा काम गर्ने कामदार, प्राविधिकहरु कोरोना प्रकोपअघिदेखि नै काममा रहेकाले समस्या नभएको तर आजदेखि भने आयोजनाको भ्रमणमा बाहिरको मानिसलाई आउन नदिइने श्रेष्ठले बताए।

आयोजनाको काम अहिलेसम्म ९९.४ प्रतिशत सकिएको र आगामी असारभित्र एउटा टर्वाइनबाट ७६ मेगावाट परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको श्रेष्ठले बताए। आयोजनामा ६ वटा टर्वाइन रहेको र प्रत्येक टर्वाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुने उनको भनाइ छ ।

विसं २०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माणकार्य शुरुआत गरिएको यस आयोजनामा विसं २०७२ वैशाख महिनामा गएको भूकम्प र त्यसपछिको तराई आन्दोलन तथा लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले निर्माण सम्पन्न हुने अवधिमा विलम्ब हुन गएको आयोजना प्रवक्ता डा गणेश न्यौपानेले बताए।

प्रवक्ता न्यौपानेले भने, “वर्तमान कार्यप्रगतिका आधारमा यस आयोजनाबाट विसं २०७७ को असार मसान्त या साउन पहिलो साताभित्र परीक्षण उत्पादन शुरु गरिने र कुनै समस्या नभए त्यसले निरन्तरता पाउने छ।” दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाका लागि ब्याजबाहेक ४९ अर्ब २९ करोड लागत प्रक्षेपण गरिएपनि निमार्ण अवधि लम्बिँदा आयोजनाको लागत ब्याजसहित ७० अर्ब बढी पुगिसकेको छ।