मेलम्ची लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै आयोजनका काम ठप्प

0
Shares

मेलम्ची खानेपानीलगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका काम ठप्प भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । देशभर लकडाउन भएपछि आयोजनामा भइरहेको सबै काम रोकिएको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

एक साताअघि मात्रै खानेपानीमन्त्री विना मगरको उपस्थितिमा आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो ।

आगामी बडादशैँअघि नै मेलम्चीको पानी काठमाडौँमा ल्याउने योजनानुसार तीव्र गतिमा काम भइरहे पनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताए । आयोजनास्थलमा काम गर्ने स्थानीय मजदूर घर फर्के पनि विदेशी मजदूर भने आयोजनास्थलमा नै सुरक्षितसँग बसिरहेको खत्रीले बताए ।

कोरोनाका कारण जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनादेखि अन्य सबै निर्माणका काम रोकिएका छन् । एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पनि सबै रोकिएको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । त्यस्तै जिल्लामा स्थानीय, प्रदेश र सङ्घबाट सञ्चालित विभिन्न विकासनिर्माणका काम पनि रोकिएको छ ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १३ : ०३ बजे