अमेरिकी अर्थतन्त्रमा मन्दीको आशंका, व्यवसायिक गतिविधि न्यून

0
Shares

अमेरिकाको व्यवसायिक गतिविधि मार्चमा थप खुम्चिएको छ । कोरोना भाइरसको महामारीले म्यानुफ्याक्चरिङ र सेवा दुबै क्षेत्रको गतिविधिमा उच्च कमी ल्याएसँगै समग्र व्यवसायिक गतिविधि खुम्चिएको हो ।

यसले अर्थतन्त्र मन्दीमा जाने आशंका थप बलियो बनाएको छ । बजार अनुसन्धाता संस्था आइएचएस मार्किटले सार्वजनिक गरेको तथ्यांकअनुसार म्यानुफ्याक्चरिङ र सेवा दुबै क्षेत्रको गतिविधि मापन गर्ने सूचक कम्पोजिट आउटपूट इन्डेक्स यो महीना ४० दशमलव ५ अंकमा झरेको छ । यो अहिलेसम्मकै न्यून हो ।

कुनै पनि आर्थिक क्षेत्रको गतिविधि झल्काउने यो सूचक ५० अंकभन्दा तल झरेमा सो क्षेत्रमा संकुचन आएको बुझिन्छ । फेब्रुअरीमा भने यो सूचक ४९ दशमलव ६ अंक थियो । सर्वेक्षण मार्चको १२ देखि २३ सम्म गरिएको थियो ।

कोरोना भाइरसको महामरी फैलिएसँगै अमेरिकाको आधा भन्दा धेरै जनसंख्या भएका १८ अमेरिकी राज्य लकडाउनमा छन् । अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर जान बन्देज गरिएको छ भने अन्यावश्यक बाहेकका अन्य व्यवसाय समेत बन्द छ ।

महामारी बढेसँगै अमेरिकामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या बढेको छ । मार्च १४ मा सकिएको हप्तामा बेरोजगारी भत्ता दाबी गर्नेको संख्या ७० हजारले बढेर २ लाख ८१ हजारमा पुगेको छ ।

यो सन् २०१२ यताकै उच्च हो । यो संख्या बढेर १५ लाखको कीर्तिमानी उचाईमा पुग्न सक्ने अर्थशास्त्रीहरुको अनुमान छ । एजेन्सी

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  ०७ : ४३ बजे