कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने तीन पसलमा छापा

0
Shares

लकडाउनको मौकाछोपी कृत्रिम मूल्य सिर्जना गरेर कालोबजारी गर्ने वीरगञ्ज मीना बजारका तीन पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले छापा मारी जरिवाना तिराएको छ ।

सो कार्यालयका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा गएको टोलीले आज अपराह्न भरत इन्टरप्राइजेज, सिद्धार्थ सब्जी भण्डार तथा सुरेश मेडिकल पसलमा छापा मार्दा ती पसलले कृत्रिम मूल्य सिर्जना गरी कालोबजारी गरिरहेको पाइएकाले जरिवाना तिराएको सो कार्यालयले जनाएको छ ।

औषधि पसलले पञ्जा बेच्दा मूल्यमा एकरुपता नराखेको र बिलबीजक नक्कली देखाई ठगी गरेकाले उनलाई २० हजार तथा इन्टरप्राइजेज र सब्जी भण्डारले बिक्री गरिरहेको आलुसम्बन्धी कागजात दुरुस्त नराखी बढी मूल्यमा बेच्ने गरेकाले दुवैलाई जनही एक एक हजार जरिवाना गराइएको कार्यालयका सूचना अधिकारी दिलीप खङ्गलेबताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको समेत सहभागिता रहेको सो टोलीले वीरगञ्जका नगवा, पानीटंकी र मूर्लीमा रहेका तरकारी बजारको निरीक्षण गरी बढी मूल्यमा तरकारी बेच्ने बिक्रेतालाई पहिलो चोटि नसिहत दिइएको बताइएको छ ।

लकडाउनपछि वीरगञ्जस्थित घण्टाघरको पान मण्डी गल्लीमा रहेका थोक व्यापारीले एकाबिहानै व्यापारीलाई बढी मूल्य लिएर खाद्यान्नलगायत सामान बेच्ने गरेकाले सो ठाउँमा पनि स्थानीय प्रशासनले छापा मारी कालोबजारी गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने माग पीडित उपभोक्ताले गरेका छन् ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  १७ : २४ बजे